
१९ भदौ २०८२, बिहीबार
सेतो पुतलीबाट लाग्ने शापु रोगबारेसरोकारवालाहरुलाई अभिमुखीकरण गरेको छ ।
स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेश सुर्खेतले आज वीरेन्द्रनगरमा आयोजित कार्यक्रममार्फत शापु रोगबारे जानकारी गराएको छ । उक्त रोगका विषयमा आँखा अस्पताल सुर्खेतका मेडिकल रेटिना तथा युभेटिस विशेषज्ञ डा.आकांक्षा रानाले आफ्नो प्रस्तुति राख्नुभयो ।
प्रस्तुति दिँदै डा. रानाले भन्नुभयो, “शापु एक दृष्टिनाशक रोग हो । यो सेतो पुतलीबाट लाग्ने गर्दछ । प्राय वर्षा यामपछि भदौदेखि मंसिर महिनासम्म विशेषगरी नेपालको मध्य पहाडी भेकमा शापु महामारीका रुपमा देखिने गरेको छ ।” रोगको लक्षणहरु देखापरेको २४ देखि ४८ घण्टासम्म उपचार हुन नपाए आँखाको दृष्टि गुम्न सक्ने उहाँले बताउनुभयो ।
सन् ९१७७ देखि नेपालमा देखापरेको यो रोगको नाम पहिलो पटक सुनिएको भन्दै नेपाल रेडक्रस सोसाईटी सुर्खेतका अध्यक्ष रामलाल आचार्यले यसलाई सचेतना अभियानका रुपमा अगाडि बढाउनुपर्ने बताउनुभयो । सर्वसाधरणलाई यो रोगबारे जानकारी नभएकोले यो घातक रोग हरेक नागरिकहरुलाई थाहा हुने गरी कार्यक्रम गर्नुपर्ने उहाँको भनाई थियो ।
स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका निर्देशक डा.रविन खड्काले शापु रोगबारे नागरिक तहसम्म अनविज्ञता भएकोले यसको जानकारी दिने र मिडियाबाट सचेतना जगाउने उद्देश्यले पत्रकार तथा सरोकारवालाहरुलाई अभिमुखीकरण गरिएको बताउनुभयो । उहाँका अनुसार निर्देशनालयले पहिलो पटक शापु रोगबारे सरोकारवालाहरुलाई जानकारी दिएकोले अब नागरिकलाई यो रोग, यसको लक्षण, रोकथाम, नियन्त्रण र उपचारका बारेमा सचेत गराउनेछ ।