

१६ भदौ २०८२, सोमबार
सुर्खेतः लोक सेवा आयोगले देशका सातै प्रदेशमा ‘लोक सेवा पहुँच कार्यक्रम’ सञ्चालन कार्यलाई अगाडि बढाएको छ ।
आयोगले स्थापनाको पचहत्तरौं वर्ष (हीरक जयन्ती)को अवसरमा प्रदेश, स्थानीय तह र विश्वविद्यालयहरुको समन्वय तथा सहकार्यमा देशका सातै प्रदेशमा सबै जिल्लाबाट सहभागिता हुने गरी ‘लोक सेवा पहुँच कार्यक्रम’ सञ्चालन कार्य सुरु गरेको लोक सेवा आयोग सुर्खेत कार्यालयका प्रमुख रुद्रबहादुर कार्कीले जानकारी दिनुभयो ।
आयोगको कार्यतालिका अनुसार सोमबार कोशी र लुम्बिनी प्रदेशमा कार्यक्रम सम्पन्न गरिएको जनाउँदै कार्यालय प्रमुख कार्कीले भोलि भदौ १८ गते कर्णाली र मधेश, २० गते गण्डकी र सुदूरपश्चिम, २७ गते बागमती प्रदेशमा उक्त कार्यक्रम सम्पन्न गरिने बताउनुभयो । कर्णालीमा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीसहितको सहभागिता हुने उहाँको भनाई छ ।
“समाजमा अहिले पनि ठूलो संख्यामा युवा विद्यार्थी तथा सर्वसाधारण नागरिकले आयोगको निष्पक्ष परीक्षा प्रणाली, उम्ेमदवार छनोट प्रक्रिया, तयारी विधि र पारदर्शी चयन पद्धतिबारे पर्याप्त जानकारी छैन,” उहाँले भन्नुभयो, “अर्कोतर्फ आयोग पनि भनसुन हुन्छ भन्ने भन्ने बुझाईको चिरफार गर्ने हेतुले आयोगले यो कार्यक्रम तय गरेको हो ।”
कर्णालीका १० जिल्लाबाट १० का दरले ६० जना, १२ जना विश्वविद्यालय, १० पत्रकारसहित करिब एक सय जनाको सहभागिता हुने कार्यालय प्रमुख कार्कीले बताउनुभयो । पहिलो पटक आयोगले सार्वजनिक रुपमा गर्न थालेको ‘लोक सेवा पहुँच कार्यक्रम’बाट युवा विद्यार्थीहरुलाई सार्वजनिक सेवाप्रति आकर्षण र विश्वास बढ्ने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।