OnlinePana

आज : २०८२ भाद्र १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
भाद्र १७, २०८२
१५ पटक

१७ भदौ २०८२, मंगलबार

कालीकोट शुभकालिका गाउँपालिका १ गगने खोलामा पहिरो जाँदा कर्णाली राजमार्ग तीन दिनदेखि अवरुद्ध भएको छ । राजमार्ग अवरुद्ध हुँदा नागरिकलाई आवतजावत गर्न समस्या भएको छ ।

अवरुद्ध राजमार्गका कारण जुम्लादेखि स्याउ बोकेर सुर्खेत, नेपालगञ्ज, काठमाडौंलगायत देशका प्रमुख सहरका लागि झर्दैैै गरेका मालबाहक ट्रकहरु राजमार्गमै थन्किएका छन् । यसले गर्दा यात्रु र स्याउ व्यापारीले तीन देखि सास्ती खेपिरहेका छन् । गन्तव्यमा पुर्याइ सक्ने बेलामा बाटोमै अलपत्र हुनुपर्दा व्यापारीहरु स्याउ कुहिने चिन्तामा छन् । राजमार्ग खुलाउन सरोकारवाला निकायको पूर्वतयारी नहुँदा नागरिकले सास्ती भोग्नुपरेको दुखेसो यात्रु बालाराम नेपालीले गर्नुभयो ।

कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीले पहिरोका कारण स्याउ बोकेका २३ ट्रक रोकिएको बताउनुभयो । उहाँका अनुसार २३ ट्रकमा रु.१३ करोड बराबरको एक सय ८४ मेट्रिक टन स्याउ अलपत्र पर्दा स्याउ कृषकहरुले बाटो खुलाउन पटक पटक अनुरोध गरेका छन् । स्याउ कुहिने भएकोले सडक डिभिजन कार्यालय जुम्ला, जुम्ला र कालीकोट जिल्ला प्रशासनलाई पनि भनिएको प्रमुख अधिकारीले बताउनुभयो ।

सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख दिपेन्द्र चौधरीले सोमबार बे्रकर र लोडर दुवै मेसिन लगाएर नौवटा होल खोप्दा पनि ढुंगा फोड्न नसकिएको बताउनुभयो । “ढुंगा धेरै ठूलो भएकोले आज बलाष्टिङ गर्ने तयारी छ । त्यसका लागि नेपाली सेनाको टोली मान्मबाट अहिले जाँदैछ,” उहाँले भन्नुभयो, “माथिबाट बेला बेलामा ढुंगा झरिराख्ने भएकोले आफू सुरक्षित भएर काम गर्नुपर्छ ।” हिजो पानी परेकोले बाटो नखुले आज बेलुकासम्म खुल्ने गरी काम गरिने डिभिजन प्रमुख चौधरीले जनाउनुभयो ।

जिल्ला प्रशासन कार्यालय कालीकोटका सहायक प्रमुख जिल्ला अधिकारी जनक शर्माले प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयलको नेतृत्वमा नेपाली सेना, नेपाल प्रहरीसहितको टोली पहिरोस्थल गएको राससलाई जानकारी दिनुभयो । सप्रजिअ शर्माका अनुसार नेपाली सेना, सडक डिभिजन कार्यालय जुम्ला, प्रहरी, प्रशासनसहितको टोलीले पानी नआएसम्म आज बाटो खुलाउने गरी काम गर्नेछ ।

 

प्रतिकृया दिनुहोस्