

१६ भदौ २०८२, सोमबार
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले सङ्घ, प्रदेश र स्थानीय तहबीचको सम्बन्ध सुदृढ हुन आवश्यक रहेको बताउनुभएकाे छ ।
कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानको प्रशिक्षण परिषद्को आज सुर्खेत वीरेन्द्रनगरमा बसेको तेस्रो बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले संघ, प्रदेश र स्थानीय तहबीचको समन्वय र सहकार्यले विकास र समृद्धिको गन्तव्यमा पुग्ने बाटो नै सहज हुने बताउनुभयो । उहाँले तीनै तहबीचको सुदृढ सम्बन्धले मात्रै संघीयताको मर्म अनुसारको लक्ष्य पुरा हुने उल्लेख गर्नुभयो ।
संघ र प्रदेशले नीति तथा योजना बनाउने भए पनि कार्यान्वयनको वास्तविक स्थान स्थानीय तह भएकाले समन्वयलाई प्राथमिकतामा राख्न आवश्यक रहेको बताउनुभएका मुख्यमन्त्री कँडेलले भन्नुभयो, “संघ र प्रदेशले गर्ने विकास कार्यको कार्यान्वयन क्षेत्र स्थानीय तह हो । यसलाई जिम्मेवार र सक्षम बनाउनुपर्छ । यसो हुन सकेमात्र जनतालाई संघीयताको अनुभूति हुने निश्चित गर्न सकिन्छ ।”
मुुख्यमन्त्री कँडेलले प्रदेश सरकारले सुरु गरेको योजना बैकलाई स्थानीय तहले अनुसरण गर्न अनुरोध गर्नुभयो । बिगतको अनुभवबाट सिकेर तजबिजीका आधारमा योजना छनोट गर्ने प्रवृत्तिलाई सुधार गर्दै प्रदेश सरकारसँग भएको सीमित स्रोत र साधनलाई सही सदुपयोग गर्नुपर्ने उहाँको भनाई थियो ।
मुख्यमन्त्री कँडेलले कर्मचारी प्रशासनतर्फ संकेत गर्दै केवल समस्या देखाउने मात्र नभई समस्याको समाधानका उपाय पनि खोज्ने प्रवृत्ति विकास गर्नुपर्नेतर्फ जोड दिनुभयो । उहाँले भन्नुभयो, “समस्या देखाउन सजिलो हुन्छ तर त्यसको समाधानका लागि व्यवहारिक उपाय सुझाउनु अझ महत्वपूर्ण हुन्छ । विधि, थिति र कानुनको पालना गर्न सबैको कर्तव्य हो ।” संघीय व्यवस्थालाई प्रभावकारी बनाउन कानुनी स्पष्टता र प्रक्रियागत पारदर्शिता अनिवार्य हुने उहाँले बताउनुभयो ।