OnlinePana

आज : २०८२ भाद्र १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
भाद्र ११, २०८२
४ पटक

११ भदौ २०८२, बुधबार

कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले मानसिक स्वास्थ्य समस्या समाधानमा साझा प्रयास आवश्यक रहेको बताउनुभएको छ ।

स्वीस सरकार तथा मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र (सिएमसी नेपाल)को आर्थिक एवं प्राविधिक सहयोगमा आज सामाजिक विकास मन्त्रालयद्वारा सुर्खेत वीरेन्द्रनगरमा आयोजित “मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीति कार्ययोजना २०७९–२०८७ को मध्यकालीन समीक्षा तथा अन्तरक्रिया” कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले पछिल्लो समयमा मानसिक स्वास्थ्य समस्या समाजमा बढ्दै गएको बताउनुभयो ।

“अहिले रोग लाग्ने भन्दा पनि लुकाउने समस्या छ, यो सोचनीय कुरा हो” उहाँले भन्नुभयो, “धेरै थोरै मात्र हो सबै मानिसहरुमा मानसिक स्वास्थ्य समस्या छ ।” यहाँ स्रोतको अभाव नभई सही सदुपयोग हुन नसकेको भन्दै कर्णाली प्रदेशले देशका सात प्रदेशमा पहिलो पटक मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीति तथा कार्ययोजना निर्माण गरी कार्यान्वयनस्तरमा पुर्याएको मन्त्री भण्डारीले बताउनुभयो ।

सामाजिक विकास मन्त्रालयका सचिव धोलकराज ढकालले मानसिक स्वास्थ्य आधारभूत अधिकार भएको बताउनुभयो । स्वास्थ्यले तत्काल र शिक्षाले दीर्घकालीन प्रभाव पार्ने भएकोले जतिसक्दो मानव स्वास्थ्य संरक्षणका लागि सबै सरोकारवालाहरु भूमिका हुनुपर्ने बताउनुभयो ।

प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र सुर्खेतका निर्देशक शक्ति सुवेदीले कर्णाली विभिन्न जिल्लाको समस्याबारे अध्ययन गरेर विभिन्न प्रकारका औषधि आपूर्ति व्यवस्थापन केन्द्रले व्यवस्था गरेको बताउनुभयो । राष्ट्रिय मानव अधिकार आयोगका कर्णाली प्रदेश कार्यालय प्रमुख रमेश थापाले मर्यादित जीवन जिउन पाउने अधिकार मानव अधिकार भएकोले यसको संरक्षणमा जोड दिनुपर्ने धारणा राख्नुभयो ।

सिएमसी नेपालका निर्देशक डा.पशुपति महत मानसिक स्वास्थ्य, यसको राष्ट्रिय नीति तथा रणनीतिका बारेमा आफ्नो प्रस्तुति राख्दै राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्को तथ्याङ्क अनुसार कर्णालीमा ४२ प्रतिशत चिन्ता र २३ प्रतिशत निराशाका रोगी भएको बताउनुभयो । ११ दशमलव ७ प्रतिशत मानिसहरु कुनै न कुनै मानसिक रोगबाट ग्रसित भएको जनाउँदै उहाँले यसको रोकथामका लागि सबै तहका सरकारहरुले लगानी गर्नुपर्ने धारणा राख्नुभयो ।

समीक्षा तथा अन्तरक्रियामा मानसिक रोग विशेषज्ञ डा.सुशील समदर्शीले कर्णाली प्रदेश सरकारको मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीति कार्ययोजनाको आगामी कार्यदिशा, लिएको नीति र हालसम्म भएका प्रगति र जनस्वास्थ्य अधिकृत किरणकुमार शर्माले कर्णालीको मानसिक स्वास्थ्य र यसको सुधारका लागि प्रदेश सरकारले गर्दै आएका गतिविधि र क्रियाकलापका बारेमा आफ्नो प्रस्तुति राख्नुभयो ।

सिएमसी नेपालका नीति, रणनीति तथा सुशासन प्रमुख हिमाल गैरेले “मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीति कार्ययोजना २०७९–२०८७ को मध्यकालीन समीक्षा” गरी छुटेका विषयहरु समेट्ने र विशेषगरी माथिल्लो कर्णालीका समस्यालाई रणनीति तथा कार्ययोजनामा समावेश गर्ने कार्यक्रमको उद्देश्य रहेको बताउनुभयो । उहाँका अनुसार बसाईसराई र पैसाका लागि विदेश पलायन भएर फर्कने रुकुमपश्चिम जस्ता जिल्लाका नागरिकहरुको मानसिक स्वास्थ्य अवस्था अँझ बढी डरलाग्दो भएको पाइएको छ ।

प्रतिकृया दिनुहोस्