OnlinePana

आज : २०८२ भाद्र १० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
भाद्र ९, २०८२
५ पटक

९ भदौ २०८२, सोमबार

सुर्खेतः नेपाल प्रहरीका महानिरीक्षक दीपक थापाले नेपाल प्रहरी नागरिकको विश्वासको प्रतिक बन्नुपर्ने बताउनुभएको छ ।

सुर्खेतको भेरीगंगा नगरपालिका १२, छिन्चुस्थित आज इलाका प्रहरी कार्यालय परिसरभित्र नवनिर्मित महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रको ११ कोठे भवनको उद्घाटन गर्दै महानिरीक्षक थापाले यो सुविधा सम्पन्न भवन ढुंगा र सिमेन्टबाट बनेको संरचना मात्र नभई नागरिकको विश्वास र आस्थाको केन्द्र बन्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “देशैभरि दुई सय ३५ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रहरु छन् जसमा बेलायती सरकारको सहयोगमा नेपाल प्रहरीका अहिलेसम्म ५८ वटा प्रहरी सेवा केन्द्रले बनेका छन् । यसका लागि बेलायत सरकारलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहान्छु ।” रु.तीन करोड ३५ लाख ३२ हजार लागतमा बनेको सुविधा सम्पन्न भवन आधुनिक संरचनासहित अपाङ्गतामैत्री बनेको र यसले घरेलु हिंसासहित अन्य समस्यामा परेका महिला, बालबालिका र ज्येष्ठ नागरिकको अधिकार सुरक्षित राख्न सहयोग पुग्ने उहाँले जनाउनुभयो ।

लागु औषध, सडक दुर्घटना, आत्महत्या र साईबर अपराधका घटना बढ्दो अवस्थामा भएकोले नियन्त्रणमा ल्याउन चुनौतिपूर्ण भएको प्रहरी महानिरीक्षक थापाको भनाई थियो । उहाँका अनुसार नकरात्मकोन्मुख समाजलाई सकरात्मकतातर्फ लैजान सबैले आ आफ्नो क्षेत्रबाट विशेष योगदान पुर्याउनुपर्दछ ।

प्रथमतः प्रहरी आफै सुरक्षित नभई सुरक्षा दिन नसक्ने भएकोले उसको सुरक्षाका लागि सरकारले जोखिम क्षेत्रलाई प्राथमिकतामा राखेर त्यसको व्यवस्थापनमा लाग्नुपर्ने जनाउँदै प्रहरी महानिरीक्षक थापाले समयानुकुल निर्माण भएको भवनबाट उच्च मनोबलका साथ प्रहरी नागरिक समुदायको साथमा रहेर काम गर्न मातहतका प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।

नेपाल प्रहरी समाजमा भएको सबैखाले विसंगति विकृति अन्त्य गर्न, अपराध नियन्त्रण र अपराध अनुसन्धान गर्न प्रहरी सदैव आफ्नो कर्तव्यमा तल्लिन भएको बताउनुभएका महानिरीक्षक थापाले नवनिर्मित भवनले प्रहरी सेवामा थप गतिशीलता र सहजता ल्याउने विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार लागु औषध ऐन, २०३३ समयानुकल संशोधन हुनुपर्दछ ।

भेरीगंगा नगरपालिकाका नगरप्रमुख यज्ञप्रसाद ढकालले पूँजी, प्रविधि र मानव दक्ष जनशक्ति कर्णालीमा अभावमुक्त हुन सके कर्णालीले मुलुकलाई धेरै कुरा दिन सक्ने जिकिर गर्नुभयो । कर्णालीमा लागु औषध, सडक दुर्घटना, जातीय विभेद, बालबिबाह र घरेलु हिंसा विद्यमान रहेको जनाउँदै उहाँले यसको नियन्त्रण तथा निराकरणका लागि नेपाल प्रहरीको प्रभावकारी भूमिका हुनुपर्ने धारणा राख्नुभयो ।

उक्त कार्यक्रममा कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव डा.पुष्पराज शाही, सुर्खेतका प्रमुख जिल्ला अधिकारी जगदिश्वर उपाध्याय, बेलायती सरकारका प्रतिनिधि साईमन पिटरलगायतले आफ्नो भनाई राख्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्