OnlinePana

आज : २०८२ भाद्र २४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
भाद्र ४, २०८२
६४ पटक

४ भदौ २०८२, बुधबार

सुर्खेतः कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले यहाँका जनताको त्याग र बलिदानबाट कर्णाली प्रदेशको जन्म भएको बताउनुभएको छ ।

कर्णाली प्रदेश स्थापना तथा सहिद दिवस २०८२ को मुल समारोहलाई सम्बोधन गर्दै प्रदेश प्रमुख जोशीले प्रदेश स्थापनार्थ आफ्नो जीवन उत्सर्ग गर्ने सहिदहरुले देखाएको मार्ग नबिराएर यहाँका जनताको हित र अधिकार रक्षा हुने गरी काम गर्न प्रदेश सरकारलाई आग्रह गर्नुभयो । मुलुक संघीयतामा गएसँगै कर्णाली जस्ता पिछडिएका क्षेत्रको विकास मात्र नभई नागरिकको जीवनस्तर माथि उठेको उहाँले उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “पैसा हामीसँगै छ, टाढा जानुपर्दैन । ईच्छाशक्तिले काम गर्यो भने कर्णालीले मुलुकलाई केही दिन सक्ने सामथ्र्य राख्छ । अब संघले केही दिएन भनेर गुनासो गर्नुपर्छ जस्तो लाग्दैन । हामीसँग भएको बजेट खर्च गर्ने क्षमता बढाऔं ।” बजेट खर्च गर्न जिम्मेवार कर्मचारीलाई पुरस्कृत र त्यसमा लापरवाही गर्ने कर्मचारीलाई प्रदेश सरकारले दण्डित गर्ने साहस राख्नुपर्ने उहाँको भनाई थियो ।

उक्त समारोहमा बोल्दै कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले त्याग र बलिदानबाट जन्मेको कर्णाली प्रदेशको लागि भदौं ४ गते सम्झनलायक ऐतिहासिक दिनभएको बताउनुभयो । सामुहिक प्रयासबाट सकरात्मक परिचयका आधारमा कर्णालीको यात्रा अगाडि बढेको उल्लेख गर्दै मुख्यमन्त्री कँडेलले तीन ठूला दलले जनताका अगाडि आत्मसमीक्षा गर्नुपर्ने धारणा राख्नुभयो ।

कर्णाली प्रदेशका सभामुख नन्दा गुरुङले कर्णालीबासीको संघर्षबाट कान्छो भएर जन्मेपनि प्रदेशको नामाङ्करणमा कर्णालीले जेठो रुपमा स्थापित भएको बताउनुभयो । उहाँले संघीयताको कार्यान्वयनपश्चात् सबै वर्ग जाति, भेक, क्षेत्रको उत्थानमा सहयोग पुगेको जनाउनुभयो ।

प्रमुख प्रतिपक्षी एवं नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलका नेता राजकुमार शर्माले सिंहदरबाटै शासन चलाउने राजनीति दलहरुको मनोवृतिका कारण कर्णालीको अपेक्षित विकास हुन नसकेको टिप्पणी गर्नुभयो । उहाँले स्थानीय तथा प्रदेश सरकार बलियो भएमात्र संघीय व्यवस्था दीगो एवं बलियो हुने र जनताको जीवनस्तरमा पनि परिवर्तन आउने जिकिर गर्नुभयो ।

नेपाली काँग्रेस कर्णाली प्रदेशसभा दलका नेता जीवनबहादुर शाहीले कर्णाली जन्माउने सहिदहरुको सपना पुरा गर्न लाग्नुपर्ने भन्दै पीडित परिवारलाई प्रदेश सरकारले आवश्यक सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो । संघले कर्णालीप्रति हेर्ने दृष्टिकोण बदल्न र यहाँको नेतृत्वहरुको सोचमा सकरात्मकपन आउन सके विकासको लक्षित गन्तव्यमा पुग्न सकिने नेता शाहीको भनाई थियो ।

उक्त कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरु, जिल्ला समन्वय समितिका प्रमुख, वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख, कर्णाली प्रदेश सरकारका प्रमुख सचिव, प्रदेश सचिवहरु, सुरक्षा निकायका प्रमुख, कर्मचारी, नागरिक समाजका प्रतिनिधि तथा पत्रकार सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्