

१५ साउन २०८२, बिहीबार
सुर्खेतः कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले आर्थिक वर्ष २०८१÷०८२ मा बजेट कार्यान्वयन ६९ प्रतिशत गरेको छ ।
मन्त्रालयद्वारा बुधबार सम्पन्न वार्षिक प्रगति समीक्षा कार्यक्रममार्फत आर्थिक वर्ष २०८१÷०८२ मा चालुतर्फ रु.एक अर्ब ३७ करोड २० लाख ६६ हजार मध्ये रु.९४ करोड ९७ लाख ७४ हजार (६९ दशमलव २२) र पुँजीगततर्फ ४९ करोड ५१ लाख ५० हजार बजेटमा रु.३४ करोड ३३ लाख ४० हजार (६९ दशमलव ३४) प्रतिशत अर्थात् समग्रमा ६९ दशमलव २५ प्रतिशत बजेट कार्यान्वयन भएको तथ्याङ्क सार्वजनिक गरिएको हो ।
उक्त आर्थिक वर्षमा सबै भन्दा बढी बजेट कार्यान्वयन कृषि विकास कार्यालय कालिकोटले ९६.६९ प्रतिशत र सबै भन्दा कम मन्त्रालयको ३५.६ प्रतिशत गरेको जनाईएको छ । कृषि मन्त्रालयका कायममुकायम सचिव परशुराम रावतका अनुसार मन्त्रालयले ब्याज अनुदान कार्यक्रम अन्तरगत छ बैंकमार्फत पाँच सय ३५ जना कृषि व्यवसायी लाभान्वित भएका छन् । जसमा रु.एक अर्ब ४४ करोड रकम बैंक तथा सहकारीबाट लगानी गरिएको थियो ।
तीन सय ६५ मेट्रिक टन सुकाएको अदुवा तथा बेसार जर्मनीमा निर्यात गर्दा दुई हजार कृषक प्राङ्गारिक प्रमाणीकरणमा आवद्ध भएको, सात सय ४७ वटा साना सिँचाई योजनामार्फत करिब दुई हजार एक सय ४२ हेक्टर क्षेत्रफलमा सिँचाई सुधार तथा थप नौ सय हेक्टर सिंचाई सुविधा विस्तार भएको र करिब १६ हजार दुई सय घरधुरी लाभान्वित र एक लाख २५ हजार दिन रोजगारी सिर्जना गरेको बताउनुभयो ।
यस्तै, कृषि तथा व्यवसाय प्रवद्र्धन कार्यक्रमअन्तगरगत २० हजार एक सय सुन्तलाको बिरुवा, १५ हजार चार सय कागतीको वृक्षारोपण, पाँच हजार बोट ओखर र एक हजार बोट स्याउको वृक्षारोपाणमार्फत् दुई हजार आठ सय घर परिवार लाभान्वित हुनुको साथै सुन्तलाको ७० हजार, कागतीको २४ हेक्टर, ओखरको ४० हेक्टर र स्याउको ५ हेक्टर थप क्षेत्रफल विस्तार भएको सचिव रावतले बताउनुभयो ।
यसैगरी, १६ क्विन्टल धानको उन्नत बीउ, ३५ क्विन्टल मकै, ६० क्विन्टल गहुँ, दुई सय ४५ क्विन्टल अदुवा र बेसारको बीउ वितरण गरी करिब छ सय ५० जना कृषक लाभान्वित र आठ हजार वटा मेलिफेरा मौरी गोलासहित घार र चार सय ३६ सेरेना मौरी गोलासहित घार एवं मौरीपालन समाग्री वितरण मन्त्रालयले गरेको छ ।
मन्त्रालयले ५० भन्दा बढी भेडापालन गर्ने कृषकहरुलाई औषधि उपचारवापत्को प्रोत्साहन अनुदानले भेडा बाख्रापालन गर्ने कृषकहरुको संख्यामा वृद्धि भएको, तरल नाइट्रोजन उत्पादन प्लान्ट स्थापनाको पूर्वाधार काम सकेर मेसिनरी औजार ल्याउन बाँकी, प्राकृतिक प्रकोप राहत वितरण कार्यक्रम अन्तरगत असिना हावाहुरीबाट करिब तीनसय हेक्टर बालीमा क्षति हुँदा एक हजार छ सय २४ कृषकलाई रु.८२ लाख रकम कृषकलाई प्रदान गरेको थियो ।
यस्तै, खाद्य सुरक्षा तथा कृषि प्रसार कार्यक्रम अन्तरगत ३१ क्विन्टल धानको उन्नत बीउ, २२ क्विन्टल मकैको उन्नत बीउ, १५० क्विन्टल गहुँको उन्नत बीउ र छ क्विन्टल तरकारीको उन्नत बीउ वितरण गरिएको बताईएको छ । मन्त्रालयका अनुसार एक हजार क्विन्टल स्याउको बिरुवा, एक हजार नौ सय ५० ओटा ओखरको बिरुवा, तीन हजार दुई सय ७० सुन्तलाजात बिरुवा, आठ सय ५० एभोकाडो, दुई हजार लिचीको वृक्षारोपणबाट एक हजार दुई सय कृषक लाभान्वित भएका छन् ।
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले मन्त्रालयको समीक्षा गोष्ठीमा बोल्दै मन्त्रालय र मातहतका कार्यालयहरुले गरेका गतिविधि सबै सार्वजनिक गर्नुपर्ने बताउनुभयो । सकारात्मक मनोविज्ञानका साथ काम गरिँदा प्रभावकारी प्रतिफल प्राप्त हुने बताउँदै उहाँले कर्मचारीहरुले जागीरका हिसाबले नभएर ज्ञान, सिप, दक्षताका आधारमा योगदान दिनुपर्छ भन्ने मानसिकता राख्न आग्रह गर्नुभयो ।
मुख्यमन्त्री कँडेलले पछिल्लो समय कर्णाली प्रदेशमा विदेशबाट फर्किएका व्यक्ति मात्रै कृषि पेशामा लागेको बताउँदै कृषि मन्त्रालय र मातहतका कार्यालयले तालिम दिएका व्यक्तिलाई कृषि पेशामा आवद्ध गर्न सुझाव दिनुभयो । कर्मचारीहरुलाई मासिक तथा वार्षिक कार्यातालिका बनाएर काम गर्न र भदौ महिनाभित्र कार्यविधि बनाएर आगामी आर्थिक वर्षका कार्यक्रमलाई समयमै अगाडि बढाउन उहाँले मन्त्रालयलाई निर्देशन दिनुभयो ।
भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिनोदकुमार शाहले कर्णाली प्रदेशमा कृषि क्षेत्रको आवश्यकता र त्यससम्बन्धी बजेटको तालमेल नमिले पनि मन्त्रालयले सकारात्मक प्रगति गरेको दाबी गर्नुभयो । उहाँले मन्त्रालयसँग प्राप्त स्रोत भएको भए अनुसन्धानमा आधारित काम गर्न सकिने जनाउनुभयो । मन्त्री शाहले सबै कार्यालयका प्रमुखहरुलाई मासिक तथा वार्षिक कार्यतालिका बनाएर सचिवलाई बुझाउन निर्देशन दिनुभयो ।