

१२ साउन २०८२, सोमबार
सुर्खेतः कर्णाली प्रदेशमा रु.११ अर्ब ५० करोड बराबर १६ हजार विपद् जोखिम घरहरुको प्राकृतिक विपद् बीमा गरिएको छ ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा सुर्खेत वीरेन्द्रनगरमा आज आयोजित ‘घर बीमा शुभारम्भ कार्यक्रम’मार्फत पहिलो चरणमा यहाँका १५ स्थानीय तहका दुई सय १३ वडाका १६ हजार ७२ घरहरुको विपद् बीमा भएको सार्वजनिक गरिएको हो । उक्त कार्यक्रममा बोल्दै मुख्यमन्त्री यामलाल कँडेलले स्थानीय तहसँगको सहकार्यमा बीमक कम्पनीद्वारा घरको मूल्याङ्कन गरी यही असार २५ गतेभित्र सम्बन्धित स्थानीय तहको सिफारिससहित विवरण पठाईएका १५ स्थानीय तहका १६ हजार ७२ घरको घर बीमा गरी पोलिसी जारी भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “कर्णाली प्रदेशभित्र स्थायी बसोबास भएका नागरिकहरुको निजी आवासीय घरको प्राकृतिक विपद्लगायत भवितव्यको कारणबाट हुने क्षति र नोक्सानीमा आर्थिक सुरक्षाको प्रत्याभूत गर्न प्रदेश सरकारको आव.२०८१÷०८२ को वार्षिक नीति तथा कार्यक्रम र वार्षिक बजेटअन्तरगत ‘घर बीमा कार्यक्रम सञ्चालन सम्बन्धी कार्यविधि २०८१’ यहाँको मन्त्रीपरिषद्बाट विसं.२०८१ फागुन १३ गते पारित भई कार्यान्वयनमा आएको छ । यसले जनतालाई विपद्मा सरकार हाम्रो साथमा छ भन्ने प्रत्याभूत गराउनेछ ।”
मुख्यमन्त्री कँडेलका अनुसार थोरै रकममा नागरिकको सम्पति सुरक्षा हुने गरी प्रदेश सरकारले नवीनतम कामको थालनी गरेको छ । घर बीमा जस्तै प्रदेशमा कृषि, पशुु बीमा कार्यक्रमको प्रभावकारी सञ्चालनको आवश्यकता छ यद्यपि क्षतिपूर्ति दिने भन्दा बीमा कार्यक्रममार्फत सुरक्षा अपनाउने काममा स्थानीय तह अग्रसरता लिनुपर्दछ । थोरै रकममा बीमा गराउँदा त्यसले हाम्रो जोखिम टार्न सहयोग पुग्छ भन्ने कुराको सचेतना फैलाउनु नागरिकस्तरमा फैलाउनुपर्ने उहाँको भनाई थियो ।
कर्णाली प्रदेश सरकारका प्रमुख सचिव वीरेन्द्रकुमार यादवले कर्णालीका नागरिकहरुको आर्थिक अवस्था, भौगोलिक विकटता र विपद् जोखिममा ध्यान दिँदै नागरिकहरुको समस्यालाई प्राथमिकतामा राखेर सरकारले घर बीमा कार्यक्रम शुभारम्भ गरेको बताउनुभयो । उहाँले सुगममा मात्र नभई विपद् पर्दाको समयमा दुर्गममा गएर पनि काम गर्न बीमा कम्पनीलाई सुझाउनुभयो ।
कार्यविधि बमोजिम घर बीमा कार्यक्रममा आवद्ध हुन प्रदेशका स्थानीय तहलाइ सूचना गरिएकोमा १० जिल्लाका २३ स्थानीय तहले प्रतिवद्धतासहितको पत्राचार गरेको मन्त्रालयका सचिव पुष्पराज शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यविधिको दफा ३ (४) बमोजिम नेपाल बिमा प्राधिकरणले छनौट गरी पठाएका २३ वटा स्थानीय तहमा २३ बटा बीमक कम्पनी खटाई निजी आवासको मूल्याङकन शुरु गरिएको थियो ।
कार्यविधिको दफा ५ को २ बमोजिम प्रतिघर अधिकतमा रु.२० लाखसम्मको मात्र प्रदेश सरकारले प्रिमियम व्यहोर्ने व्यवस्था रहेको र सो भन्दा माथि भए स्वयं धरधनीले व्यहोर्नुपर्ने जानकारी पनि सचिव शाहीले दिनुभयो । प्रिमियम वापत जम्मा रु ९८ लाख २४ हजार आठ सय ९३ भुक्तानी भएको उहाँले बताउनुभयो ।
कार्यक्रममा सल्यान शारदा नगरपालिकाका कार्यवाहक प्रमुख सुुस्मिता सापकोटा, जाजरकोट बारेकोट, सुर्खेत बराहताल र कालीकोट महावै गाउँपालिकाका अध्यक्षत्रय बीरबहादुर गिरि, भीमबहादुर भण्डारी र खेमबहादुर सिंहलगायतले कर्णाली जस्तो विपद जोखिमयुक्त प्रदेशमा गरिएको घर बीमा कार्यक्रमले नागरिकको सुरक्षामा थप बल मिलेको बताउनुभयो । प्रदेश सरकारले थालनी गरेको कार्यक्रमलाई प्रभावकारी बनाउन पालिकाको तर्फबाट आवश्यक समन्वय गर्ने उहाँहरुले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
मन्त्रालयका उपसचिव उत्तम गौतमले चालु आ.व.२०८२÷०८३ मा घर बीमा कार्यक्रममा रु.तीन करोड ५० लाख छुट्याएको बताउँदै अघिल्लो आर्थिक वर्ष घर बीमामा समावेश नभएका स्थानीय तहलाई चालु आर्थिक वर्षमा समावेश गरिने जनाउनुभयो । उहाँका अनुसार कार्यविधिको दफा ४ बमोजिम घर बीमालेखले भूकम्पबाट हुने क्षति, अग्नीजन्य, हावाजन्य, पानीजन्य, भूमिजन्य, खस्ने वा भासिने, चटयाङगजन्य, आकाशीय सामाग्रीजन्य, धक्काजन्य, स्वजलन, बाढी तथा डुवानबाट क्षतिग्रस्त घर, हुलदंगा तथा आतंकवादजन्य जोखिम तथा अन्य प्राकृतिक विपद्को कारणले क्षतिग्रस्त घर समेटने उल्लेख छ ।
घर बीमा गर्ने स्थानीय तहरुमा शारदा नगरपालिका सल्यानले चार हजार सात सय सात, ठाँटीकाँध गाउँपालिका दैलेखले पाँच सय २६, सुर्खेत गुर्भाकोट नगरपालिकाका नौ सय १६, लेकबेसी नगरपालिकाका दुई सय ६५, बराहताल गाउँपालिकाका दुई हजार चार ६९, रुकुमपश्चि त्रिवेणी गाँउपालिकाका तीन सय ३९, सानीभेरी र्गाँउपालिकाका दुई सय १२ घरधुरीको बीमा गरिएको छ ।
त्यसैगरी, तिलागुफा नगरपालिका कालीकोटका छ सय ५५, पलाता गाउँपालिकाका छ सय ४३, महावै गाउँपालिकाका छ सय ८०, डोल्पा जगदुल्ला गाउँपालिकाका छ सय ४०, जुम्ला सिंजा गाउँपालिकाका एक हजार पाँच सय ४५, हुम्ला खार्पुनाथ गाउँपालिकाका छ सय ६१, मुगु छायाँनाथ रारा नगरपालिकाका एक हजार तीन सय ११ र जाजरकोट बारेकोट गाउँपालिकाका सात सय ३३ घरधुरीको प्राकृतिक विपद् घर बीमा गरिएको छ ।