OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ १५, २०७७ सुर्खेत
५१६ पटक

१५ जेठ २०७७, बिहीबार

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले ‘गणतन्त्र’ नेपाली जनताको ऐतिहासिक बलिदानीपूर्ण संघर्षको उपलब्धि भएको बताउनुभएको छ ।

‘१३औं गणतन्त्र दिवस’ को अवसरमा एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री शाहीले जननिर्वाचित संविधानसभाबाट विसं.२०६५ जेठ १५ गते आजकै दिन संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको घोषणाको गौरवमय अवसरमा प्रदेशवासी एवं सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीहरुमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ ।

कोरोना भाइरस (कोभिड–१९) ले सृजना गरेको परिस्थितिले गर्दा यस ऐतिहासिक दिनको सम्झनामा सधैंका वर्षझैं यो वर्ष व्यापक हर्षोल्लासका साथ गणतन्त्र दिवस मनाउन सक्ने अवस्था नरहेको कुरा व्यक्त गर्दै यस वर्ष भौतिक दूरी कायम राखेर सरकारी कार्यालय तथा आ–आफनो घरमा दिपावलीलगायतका कार्यक्रमहरु उहाँले गर्न आग्रह गर्नुभयो ।

जारी सन्देशमा उहाँले भन्नुभएको छ, “विश्व समुदायसँगै प्रदेश सरकार पनि सम्पूर्ण साधन स्रोत तथा संयन्त्रको परिचालनसहित कोरोना भाइरस (कोभिड– १९) ले सृजना गरेको संकटपूर्ण अवस्था अन्त्य गर्न लागिरहेको छ । मानव जीवनमा आउने हरेक समस्याको समाधान अवश्यम्भावी भएकोले कोभिड–१९ ले निम्त्याएको संकटको समाधान हुने विश्वास दिलाउदै अहिलेको परिस्थितिबाट निराश नहुन तथा धैर्य गर्न आग्रह गर्दछु ।”

सम्भावित जोखिम रोकथामका लागि नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहले गरेका प्रयासलाई सबै नागरिकहरुले आ–आफ्नो तर्फबाट सक्दो सहयोग हुने अपेक्षा रहेको बताउँदै उहाँले सरकारले घोषणा गरेको लकडाउनको पालना गर्न, भौतिक दूरी कायम गर्न र स्वास्थ्य सावधानीका उपाय अवलम्बन गर्नुहुन सबैलाई अनुरोध गर्नुभएको छ ।

मानव जातिका अगाडि नयाँ चुनौतिका रुपमा खडा भएको यो संकटले निश्चय पनि विकास र समृद्धिको अभियानमा अवरोध उत्पन्न भएपनि यसको दीर्घकालीन यात्राबाट विचलित नभई कोभिड– १९ ले निम्त्याएको अहिलेको समस्या समाधान गर्न प्रदेश सरकार निर्वाध लागेको बताउनुयो । मुख्यमन्त्री शाहीका अनुसार यसको प्रभाव अझै केही समय रहने भएकोले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटसमेत कोरोना प्रतिकार्यमा केन्द्रित गरिनेछ ।

जारी सन्देशमार्फत् उहाँले बलिदानीपूर्ण संघर्षको प्रतिफलस्वरुप प्राप्त राजनीतिक व्यवस्थाबाट जनताले गरेको विकास र समृद्धिको अपेक्षा पूरा गर्न हाम्रासामु आइपुग्ने सबैखाले बाधा, अवरोध र चुनौतिहरुको सामना गर्दै प्रदेश सरकार लागिरहने जनाउनुभयो । गणतन्त्र स्थापनार्थ ऐतिहासिक जनयुद्ध, जनआन्दोलन र विभिन्न संघर्षका क्रममा आफनो ज्यानको आहुती दिने महान् शहीदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै मुख्यमन्त्री शाहीले यसले राष्ट्रिय एकतासहित विकास र समृद्धिको अभियानको सफलता प्राप्ति तथा सामाजिक न्यायसहितको समाजवादी राज्य व्यवस्था स्थापना गर्न समग्र नेपालीमा प्रेरणा पैदा हुने विश्वास उहाँले व्यक्त गर्नुभएको छ ।

प्रतिकृया दिनुहोस्