

१० साउन २०८२, शनिबार
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले युवालाई दुर्व्यसनमुक्त बनाउन आध्यात्मिक दर्शन आवश्यक भएको बताउनुभएको छ ।
आज सुर्खेत वीरेन्द्रनगरमा ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय तथा राजयोग प्रशिक्षण केन्द्र नेपालका प्रतिनिधिमण्डलसँग भएको भेटघाटका क्रममा मुख्यमन्त्री कँडेलले युवाहरु विभिन्न खालको दुर्व्यसनी फस्दा शान्त र समृद्ध समाज निर्माणमा चुनौति बढ्दै गएको बताउनुभयो । उहाँले समाजमा बढ्दो मानसिक तनाव, आत्महत्या, लागूपदार्थको दुरुपयोग जस्ता समस्याको समाधानका लागि आध्यात्मिक मूल्य र अभ्यासलाई जीवनशैलीमा समावेश गर्नुपर्नेमा जोड दिनुभयो ।
मुख्यमन्त्री कँडेलले भन्नुभयो, “आजका युवाहरु आधुनिक प्रविधि त छिटो जानिरहेका छन् तर मानसिक रुपमा खोक्रो बन्ने समस्या पनि त्यत्तिकै बढ्दै गएको छ । वर्तमान पुस्ता विशेषगरी युवा वर्गलाई दुर्व्यसन, निराशा र दिशाविहीनताको दलदलबाट बचाउन आध्यात्मिक मार्गदर्शनको आवश्यक छ ।” मोबाइल, सामाजिक सञ्जाल र नशालु पदार्थको लतले उनीहरुलाई भौतिक उन्नतिमा मात्रै केन्द्रित गर्दा त्यसले दीर्घकालीन रुपमा समाज र राष्ट्रलाई नै असर पार्दै गएको उहाँको भनाई थियो ।
ब्रह्माकुमारी संस्था जस्ता आध्यात्मिक केन्द्रहरूले शुद्ध विचार, सकारात्मक सोच, आत्म–अनुशासन र नैतिक जीवनशैलीको अभ्यास गराउँदै समाजमा सकारात्मक परिवर्तन ल्याउने भूमिका खेलिरहेको उहाँले बताउनुभयो । कर्णाली प्रदेशका विद्यालय, युवा क्लब, पुनस्र्थापना केन्द्र तथा सरकारी कर्मचारीहरुलाई लक्षित गर्दै राजयोग प्रशिक्षण कार्यक्रम सञ्चालन गर्नुपर्ने मुख्यमन्त्री कँडेलको सुझाव थियो ।
भौतिक विकाससँगै मानसिक र आध्यात्मिक शुद्धताले मात्र समृद्ध समाज निर्माण सम्भव हुने उहाँले जिकिर गर्नुभयो । राज्यले आध्यात्मिक केन्द्र र सकारात्मक सोचको प्रवद्र्धनमा विशेष जोड दिनुपर्ने मुख्यमन्त्री कँडेलको भनाई थियो ।