OnlinePana

आज : २०८२ आषाढ ३१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
आषाढ ३१, २०८२
१५ पटक

३१ असार २०८२, मंगलबार

कर्णाली प्रदेश सभामुख नन्दा गुरुङ संघीयता कार्यान्वयनमा पत्रकारहरुको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ ।

कर्णाली प्रदेशासभा सचिवालयद्वारा सुर्खेत वीरेन्द्रनगरमा आज आयोजित ‘कानून निर्माण र कार्यान्वयनमा मिडियाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा मन्तव्य व्यक्त गर्दै सभामुख गुरुङले समाजको ऐनाको रुपमा चित्रित पत्रकार तथा सञ्चारकर्मीहरुको जिम्मेवारपूर्ण कार्यले सुशासन कायममा ठूलो सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

“संघीय व्यवस्था अनुसार तीन तहका सरकारहरु छन्,” सभामुख गुरुङले भन्नुभयो, “ती तीनै तहका सरकारहरुले गरेका काम, सफल अभ्यास र कानून कार्यान्वयनबारे नागरिकहरुलाई सूचित गराउन यहाँहरुको जिम्मेवारी र जवाफदेही पत्रकारिता आवश्यक छ, जसले सार्वजनिक नेतृत्वमा रहेर काम गर्नेहरुलाई दायित्व बोध गराईरहोस् ।”

प्रदेश मामिला र सामाजिक विकास समितिका सभापतिद्वय कल्याणी खड्का र पूर्णबहादुर खत्रीले सार्वजनिक महत्व तथा नागरिक सरोकारका मुद्दा उठानमा पत्रकारहरुको अहम् भूमिका रहेको बताउनुभयो । पत्रकार तथा सञ्चारकर्मीहरुको निष्पक्ष एवं तटस्थ पत्रकारिताले नागरिकदेखि सार्वजनिक पदमा रहेका सबैलाई जिम्मेवार बन्न सचेत गराउने भएकोले आफ्नो भूमिका अडिग भएर काम गर्न सभापतिद्वयले आग्रह गर्नुभयो ।
नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीले राज्य सञ्चालक, कानून निर्माता र पत्रकार सबैको मूल कार्य नागरिक सेवा दिनु, उनीहरुलाई सुशासनको प्रत्याभूति गराउनु र जिम्मेवारी नागरिक बन्न उत्प्रेरित गराउनु भएको बताउनुभयो । यद्यपि पत्रकार हरेक क्षेत्रको पहरेदार र सन्देश प्रवाहक भएकोले यो क्षेत्र आग्रह पूर्वाग्रहमुक्त हुनुपर्ने धारणा राख्नुभयो ।

अन्तरक्रियमा प्रदेश सचिवालयका सूचना अधिकारी राजेन्द्रप्रसाद पौडेलले प्रदेशसभा सचिवालयले हालसम्म गरेका कामकारवाही एवं त्यसको प्रगति र कानून तथा विधेयक महाशाखाका कानून उपसचिव अर्जुन भूसालले पत्रकारहरुले सवाल उठान र न्यायिक क्षेत्रका गतिविधिहरुलाई बाहिर ल्याउन सुझाउँदै हालसम्म बनेका कानुन र कार्यान्वयनको अवस्थाका बारेमा आफ्नो प्रस्तुति राख्नुभयो ।

प्रदेशसभा सचिवालय सचिव जीवराज बुढाथोकी र प्रवक्ता नेत्रबहादुर कार्कीले प्रदेशसभाका विषयगत समितिका गतिविधिहरुमा पत्रकाहरुको पहुँच नभएको भन्ने विषयमा ध्यानाकर्षण भएको र प्राप्त सुझाव अनुसार काम गरिने बताउनुभयो । उक्त अन्तरक्रिया कार्यक्रममा पत्रकारहरुले प्रदेशसभाको काम, कर्तव्य र अधिकार, विषयगत समितिको कार्यसम्पादन, सरकारको कार्यशैली र त्यसमा सुधार गर्नुपर्ने पक्षका विषयमा सुझाव दिएका थिए ।

 

प्रतिकृया दिनुहोस्