OnlinePana

आज : २०८२ आषाढ २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
आषाढ २२, २०८२
३ पटक

२२ असार २०८२, आईतबार

श्रम, सीप र सिर्जनासहितको उद्यम, उत्पादन र उत्पादकत्वमा जोड दिने उद्देश्यका साथ कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा प्रादेशिक औद्योगिक प्रदर्शनी सम्पन्न भएको छ ।

उक्त प्रदर्शनीको समापन कार्यक्रममा बोल्दै उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारीले प्रदर्शनीले स्थानीय उत्पादन तथा बजारीकरणमा सहयोग पुग्नुका साथै उद्यमीहरुलाई प्रोत्साहन हुने बताउनुभयो । “स्थानीय साधन स्रोतको उपयोगबाट उत्पादित वस्तुहरुको प्रवद्र्धन तथा बजारीकरणमा ठूलो सहयोग पुगेको छ,” मन्त्री अधिकारीले भन्नुभयो, “यद्यपि यस्तो महत्वपूर्ण कार्यक्रम आगामी आर्थिक वर्षमा जेठ मसान्तभित्र सक्ने गरी सञ्चालन गर्नुपर्दछ ।”

नेपाल सरकार राष्ट्रपति चुरे तराई मधेश सरंक्षण विकास समितिका सदस्य कमला ओली शिवाकोटीले स्थानीय तथा घरेलु उत्पादनको वृद्धिले आयात प्रतिस्थापन गर्न सघाउने बताउनुभयो । तथापि उद्यम र उद्यमीको संरक्षण, प्रवद्र्धन र विकासलाई प्रदेश सरकारले प्राथमिकतामा राखेर काम गर्नुपर्ने सुझाव उहाँले दिनुभयो ।

उद्योग मन्त्रालयका कायमुकायम सचिव शेरबहादुर श्रेष्ठले प्रदर्शनीले कर्णाली प्रदेशभित्रका लघु, घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तु, परम्परागत तथा सुधारिएको प्रविधिबारे जानकारी दिएको बताउनुभयो । स्थानीयस्तरमा उत्पादित कच्चा पदार्थ, सोको ब्राण्ड, गुणस्तर र परिमाणका बारेमा पनि प्रदर्शनीले अवगत गराएको उहाँले बताउनुभयो । उद्यमीहरुको प्रवद्र्धनले आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सहयोग पुग्ने उहाँको भनाई थियो ।

उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सुर्खेतका निर्देशक देवीलाल सापकोटाले कृषि तथा खाद्य उत्पादन, वन पैदावर र हस्तकला क्षेत्रका विभिन्न उत्पादनहरु राखिएको प्रदर्शनीले कर्णालीको स्थानीय उत्पादन, प्रवद्र्धन, गुणस्तर, त्यसको ब्राण्डिङ र बजारीकरणमा सहयोग पुग्ने बताउनुभयो । उहाँका अनुसार कर्णालीमा लघु, घरेलु तथा साना उद्योग गरेर करिब ३६ हजार उद्योग रहेका छन् ।

उद्योग निर्देशनालयका शाखा अधिकृत सतेन्द्रकुमार यादवले लघु, घरेलु तथा साना उद्योगको प्रवद्र्धन र विकासमा जोड दिएर महिला, अपांगता, एकल महिला र दलितमैत्री उद्योग निर्माणमा जोड दिनुपर्ने बताउनुभयो । उहाँका अनुसा कर्णाली सरकारले मेक इन कर्णाली, मेड इन कर्णाली भन्ने नाराका साथ अगाडि बढेको छ ।

प्रदर्शनीमा यहाँ उत्पादित राडीपाखी, दैलेखी सावर जुत्ता, मह, अगरबत्ती, जडिबुटी, यहाँका रैथाने अन्नबाली, अल्लो, लोक्ता, दुना, टपरीलगायतका वस्तुहरु राखिएका थिए । प्रदर्शनीले उद्यमीहरुलाई थप गर्न प्रोत्साहन दिएको बताइएको छ । उक्त प्रदर्शनीमा प्रथम, द्वितिय र तृतीय हुने उद्यमीलाई निर्देशनालयले क्रमश रु.५०, ३० र २० हजार पुरस्कार प्रदान गरेको छ ।

त्यसैगरी, ‘कर्णाली प्रादेशिक औद्योगिक प्रदर्शनी २०८२’का अवसरमा आयोजित निबन्ध प्रतियोगितामा प्रथम, द्वितिय र तृतीय छात्र छात्रहरुलाई रु.१५, १० र पाँच हजार नगद पुरस्कार प्रदान गरिएको छ । प्रदर्शनीमा ६५ स्टल राखिएको थियो । सो प्रदर्शनी उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सञ्चालन गरेको थियो ।

प्रतिकृया दिनुहोस्