OnlinePana

आज : २०८२ साउन ३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
आषाढ १२, २०८२
५६ पटक

१२ असार २०८२, बिहीबार

सुर्खेतः कर्णाली प्रदेश सरकारले यही असार १ गते प्रस्तुत गरेको आगामी आर्थिक वर्ष .२०८२÷०८३ को बजेटमाथिको छलफल जारी रहेको छ ।

राजश्व र व्ययको अनुमानित बजेटमाथिको छलफल प्रदेशसभाको दोस्रो कार्यकालको छैटौ अधिवेशनको १७औं बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री राजीवबिक्रम शाहले सामान्य छलफलका लागि बुधबार प्रदेशसभामा प्रस्ताव गरेसँगै सुरु भएको छलफल आज पनि जारी रहेको छ । उक्त छलफलमा भाग लिँदै प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलका नेता राजकुमार शर्माले बजेट सन्तुलित र समन्यायिक हुन नसकेको बताउनुभयो ।

बजेट कनिका छराई भएको भन्दै उहाँले पछि परेको वर्ग र क्षेत्रको हितमा बजेट आउन नसकेको जनाउनुभयो । सरकारले विपक्षीलाई हेप्ने प्रवृति बढाउँदा त्यसले सही संकेत नदेखाएको उहाँको भनाई थियो । नेता शर्माका अनुसार सरकारले दिन काट्ने तरिकाले अगाडि बढे कर्णालीको समस्या हल नहुने बताउनुभयो ।

त्यसैगरी, नेपाली काँग्रेस कर्णााली प्रदेशसभा दलका नेता जीवनबहादुर शाहीले संवैधानिक प्रावधान अनुसार प्रदेश सरकारले असार १ गते बजेट ल्याउने सवालमा प्रतिपक्षी दलले सहयोग गरेर कर्णालीको भोक, रोग, गरिबी र पछौटेनविरुद्ध हामी एकै ठाउँमा छौं भन्ने सन्देश दिएको बताउनुभयो । आयोजना बैंकका विषयमा उठेका प्रश्न तथा सवालको सम्बोधन गरेर सरकार अगाडि बढ्नुपर्नेमा उहाँको सुझाव थियो ।

छलफलमा प्रदेशसभा सदस्य बिन्दमान बिष्टले बजेटको उद्देश्य र प्राथमिकता नमिलेको टिप्पणी गर्नुभयो । प्रदेश सरकारले चालु आवमा पनि खर्च गर्ने क्षमता देखाउन नसकेको बताउँदै उहाँले अहिले पनि करिब ढाई अर्ब बजेट फ्रिज भएर जाने जनाउनुभयो । उहाँका अनुसार विशेष अनुदान विशेष क्षेत्रलाई दिइनुपर्दछ । विशेष अनुदान समानुपातिक ढंगले वितरण गरिन नहुने सदस्य विष्टको भनाई थियो ।
त्यसैगरी, प्रदेशसभा सदस्यहरु तुलसा मल्ल, कल्याणी खड्का, सन्तोषी शाही, महेन्द्र केसी, ईन्द्राकुमारी शाही, दक्षिणा शाही, भीमप्रकाश शर्मा, खड्गबहादुर पोखरेल, देवेन्द्र शाही, दुर्गबहादुर रावत, जानकी सिंह, उर्मिला विश्वकर्मा, बीरबहादुर शाही, रनसिंह परियार, मिलन खड्का, कलबहादुर हमाल, कलबहादुर हमाललगायतले छलफलमा भाग लिनुभएको थियो ।

 

प्रतिकृया दिनुहोस्