OnlinePana

आज : २०८२ आषाढ १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
आषाढ १२, २०८२
१८ पटक

१२ असार २०८२, बिहीबार

सुर्खेतः कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरस्थित काँक्रेविहारमा धार्मिक, साँस्कृतिक, पुरातात्विक तथा ऐतिहासिक महत्वबारे ‘पर्यटन महोत्सव तथा विद्यार्थी सम्मेलन’ गर्ने तयारी भएको छ ।

वीरेन्द्रनगर नगरपालिका वडा नं. ९ सुर्खेतको आयोजनामा भोलि असार १३ गते काँक्रेविहार परिसरमा महोत्सव तथा सम्मेलन गरिने वडाध्यक्ष ऋषि गिरीले आज पत्रकार भेटघाटमार्फत जानकारी दिनुभयो । हिन्दू र बौद्ध संस्कृतिको सङ्गम मानिने काँक्रेविहारको खोज अनुसन्धान तथा पर्यटन महोत्सव र युवा, बालबालिका तथा विद्यार्थी सम्मेलन तयारीको सबै काम पुरा भएको उहाँले बताउनुभयो ।

“ऐतिहासिक, साँस्कृतिक, धार्मिक, पुरातात्विक तथा पर्यटकीय दृष्टिले अनुपम सम्पदाको रुपमा स्थापित काँक्रेविहारमा महोत्सव हुनेछ,” उहाँले भन्नुभयो, “यसको मूल लक्ष्य काँक्रेविहारको ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक र धार्मिक पक्षको गहन अध्ययन, समीक्षा तथा प्रचारप्रसार गर्नु गराउनु हो ।” ऐतिहासिक, साँस्कृतिक, पुरातात्विक र पर्यटकीय महत्व विषयमा वक्तृत्वकला प्रतियोगिता (कक्षा ९–१२), सपनाको काँक्रेविहार शीर्षकमा चित्रकला प्रतियोगिता (कक्षा ६–८) र स्थानीयकला संस्कृति झल्किने नृत्य प्रतियोगिता (कक्षा १–५) बीच हुने वडाध्यक्ष गिरीले जनाउनुभयो ।

उक्त महोत्वसमा डा.राजाराम सुवेदीले प्राचीन बौद्ध विहारका रुपमा परिचित काक्रेविहारको साँस्कृतिक, पुरातात्विक, धार्मिक र ऐतिहासिक महत्वको विषयमा कार्यपत्र प्रस्तुत गर्ने र प्राध्यापक पदमलाल देवकोटा, कृष्णचन्द्र शर्मा र महेन्द्र मल्लले त्यसको टिप्पणी गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो । यसबाट काक्रेविहारले सुर्खेत उपत्यकाको साँस्कृतिक पहिचान मात्र नभएर कर्णाली प्रदेशकै गौरवशाली अतित, धार्मिक सहिष्णुता र कलात्मक सम्पन्नताको प्रतीक बोकेको कुरा उजागर हुने जनाइएको छ ।

उहाँका अनुसार समाजका विभिन्न क्षेत्रमा योगदान गर्नुभएका महत्वपूर्ण व्यक्तित्वहरुलाई सम्मानका साथै विद्यालयस्तरीय विज्ञान तथा शैक्षिक प्रदर्शनी र स्थानीय थारु, भोटे, र अन्य आदिवासी समुदायहरूको समृद्ध साँस्कृतिक प्रस्तुतिहरु प्रदर्शन गरिने छन् । यसबाट स्थानीय समुदायमा साँस्कृतिक संरक्षण र स्वामित्वको भावना अभिवृद्धि हुने अपेक्षा गरिएको वडाध्यक्ष गिरीले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्