OnlinePana

आज : २०८२ साउन ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
आषाढ ११, २०८२
६० पटक

११ असार २०८२, बुधबार

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले मुलुक संघीय ढाँचामा जाँदा पनि केन्द्रीयताले थिचिरहेको बताउनुभएको छ ।

कर्णाली प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्रालयद्वारा आज सुर्खेत वीरेन्द्रनगरमा आयोजित ‘सार्वजनिक खर्च प्रणाली तथा वित्तीय नीति विश्लेषण छलफल कार्यक्रम’मा बोल्दै मुख्यमन्त्री कँडेलले मुलुक संविधान र संघीयताको मर्म अनुसार अगाडि बढ्न नसक्दा जनअपेक्षा पुरा हुन नसकेको धाराण व्यक्त गर्नुभयो । कर्णालीको समस्या र आवश्यकतालाई बुझेर सार्वजनिक गरिने तथ्य र त्यस अनुसारको प्रभावकारी कार्यान्वयनले मात्र यहाँको समृद्धि र विकास हुन सक्ने उहाँको भनाई थियो ।

मुख्यमन्त्री कँडेलले भन्नुभयो, “कर्णालीमा समस्या छन् र समाधान भएका छैनन् । यहाँको गरिबी अन्त्य गरी भविश्यमा यसलाई समृद्ध प्रदेश बनाउने नीति, कार्यक्रम तथा योजना निर्माणको उत्तम सुझाव लिन भनेर त विज्ञ चाहिएको हो । त्यसैले विज्ञहरुले आफ्नो विज्ञता प्रयोग गर्दै तथ्य र वस्तुनिष्ठ कार्यपत्र एवं प्रतिवेदन सार्वजनिक गर्नुपर्दछ ।”

उहाँले स्रोत, बजेट तथा खर्च सम्बन्धी अभ्यासको नीतिगत संस्थागत तथा प्रवृतिगत गणितीय तथा गुणात्मक विश्लेषण गरी आज प्रस्तुत गरिएका दुईवटा कार्यपत्रले कानूनी र संरचनागत ढाँचामा मेल खाए विज्ञहरुका सुझाव कार्यान्वयनमा आउनेसमेत बताउनुभयो । चाहिएजति बजेट कर्णालीले नपाएको र पाइएको बजेटसमेत खर्च गर्न नसकेको बताउँदै मुख्यमन्त्री कँडेलले शतप्रतिशत बजेट खर्च गर्न नसक्नु राष्ट्रिय समस्या भएको प्रतिक्रिया दिनुभयो ।

आर्थिक मामिला तथा योजनामन्त्री राजीवबिक्रम शाहले अरुको कुरा सुन्न नसक्नेले आफ्नो सुधार गर्न नसक्ने भन्दै राष्ट्र निर्माणमा साझा सोच र प्रयास आवश्यक रहेको बताउनुभयो । सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले मुलुक खत्तम छ भन्ने भाष्यले देश उँभो गतिमा नलाग्ने बताउनुभयो । उहाँका अनुसार असल नियतले काम गरे क्रान्तिकारी भाषण आवश्यक छैन ।

 

प्रतिकृया दिनुहोस्