

८ असार २०८२, आइतबार
कर्णाली प्रदेशसभाको बैठक स्थगित भएको छ । प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले अवरोध गरेपछि बैठक स्थगित भएको हो ।
कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको छैटौं अधिवेशनको आज बसेको १६औं बैठकमा सभामुख नन्दा गुरुङले काम कारवाही सुरु भन्दै गर्दा नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीले बैठकमा समय मागेर बोल्नुभएको थियो । उहाँले बजेट आर्थिक ऐन विपरीत आएको र मन्त्रीहरुले बिचौलियाको प्रतिनिधिको काम गर्दै आएको आरोप लगाउनुभयो ।
बजेट निर्माण प्रक्रिया नै त्रुटि भएको धारणा राख्नुभएका प्रमुख सचेतक जिसीले आयोजना बैंक अन्तिमसम्म पनि सार्वजनिक गर्न नसकेको र प्रतिपक्षी दलसँग भएका हालसम्मका सहमति कार्यान्वयन हुन नसकेको र राखेका माग सम्बोधन नभएसम्म सदनका काम कारवाही अगाडि बढ्न नसक्ने भन्दै बैठक अवरोध गरिएको थियो । यसमा एकीकृत समाजवादी र राप्रपासहितको दलहरुले समर्थन गरेका छन् ।
बैठक अवरोध भएपछि कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री राजीवबिक्रम शाहले असार ५ गते कर्णाली प्रदेशसभासमक्ष टेबुल गर्नुभएको कर्णाली प्रदेश आर्थिक विधेयक, २०८२ तथा विनियोजन विधेयक, २०८२ माथिको कारवाही अगाडि बढ्न सकेन । प्रतिपक्षी दलको अवरोधपछि सभामुख नन्दा गुरुङले बैठक आधा घण्टाका लागि स्थगन भएको जानकारी दिनुभयो ।