

७ असार २०८२, आईतबार
कर्णाली प्रदेशसभाका उपसभामुख यशोदा न्यौपानेले कुनैपनि विषयमा उठेका सवालहरुको समाधान तत्कालै खोज्नुपर्ने बताउनुभएको छ ।
संसदीय मामिला पत्रकार समाज कर्णाली प्रदेश सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित ‘संसदीय निगरानी र सार्वजनिक सुनुवाईका लागि सवाल पहिचान कार्यशाला’मा बोल्दै प्रश्नमात्रै उठाएर त्यसका त्यसको निराकरणतर्फ नलाग्ने प्रवृतिले समाजमा सुशासन र विकास हुन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी कुरा मात्र गर्छौं काम गर्दैनौं । सवाल उठान गर्छौं, त्यसको बैठान कसरी गर्ने भन्नेमा हेक्का राख्दैनौ । अनि हामी कसरी लक्ष्य भेट्छौं त ?”
संसदीय निगरानी र सार्वजनिक सुनुवाईसँग सम्बन्धित सुझावले संसद र सचिवालय तथा सरकारले गर्ने काममा सुधार र तीव्रता आउने उहाँको भनाई थियो । प्रदेश मामिला समितिका सभापति कल्याणी खड्का, अर्थ तथा प्राकृति स्रोत समितिका सभापति दक्षिणा शाही र सामाजिक विकास समितिका सभापति पूर्णबहादुर खत्रीले सवाल पहिचानसँगै प्राप्त सुझावहरुका विषयमा समितिमा छलफल गरी ऐन, कानून बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
नेपाली काँग्रेस कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक हिक्मतबहादुर विष्टले सबै क्षेत्र, वर्ग, जाति, लिङ्ग र धर्मलाई समेटेर आएका सुझावलाई सदन र सरकारले महत्वका साथ लिएर नागरिक हितमा काम गर्नुपर्नेमा जोड दिनुभयो । नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक कृष्णबहादुर जिसीले कार्यशालामा नागरिक समाज, पत्रकार, अधिकारकर्मी, महिला, दलित जनजाति अपाङ्गता भएका व्यक्तिलगायतले दिएका सुझावले नयाँ मुद्दा उठान गरेको बताउँदै तिनलाई मूर्त रुप सदन र सरकार दुवैबाट दिनुपर्ने जनाउनुभयो ।
उक्त कार्यशालामा नेकपा एमाले कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक टेकराज पछाई सरकारले बनाउने नीति कार्यक्रम र बजेट नागरिकमैत्री र संविधानमा व्यवस्था भएका माैलिक हक सुनिश्चित गर्न निर्वाध खबरदारीकाे आवश्यक रहेकाे बताउनुभयाे । कार्यशालामा मानव अधिकार रक्षक, नागरिक अगुवा, अधिकारकर्मी, पत्रकारलगायतले नागरिक केन्द्रित हुने खालका नीति, कार्यक्रम र बजेट ल्याउनतर्फ सबैले अर्थपूर्ण भूमिका निर्वाह गर्नुपर्ने सुझाव दिनुभयो ।