OnlinePana

आज : २०८२ आषाढ ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
आषाढ ७, २०८२
८ पटक

७ असार २०८२, शनिबार

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले राष्ट्रिय चलचित्र अवार्डमा विशेष चलचित्र पुरस्कारबाट पुरस्कृत नारी प्रधान चलचित्र ’सतीदेवी’ कुसंस्कार विरुद्धको बुलन्द आवाज भएको बताउनुभएको छ ।

प्ले फर चेन्ज सुर्खेतद्वारा आज सुर्खेत वीरेन्द्रनगरमा आयोजित ‘विशेष प्रदर्शनी तथा कर्णालीका उत्कृष्ट नारी सम्मान कार्यक्रम’मा बोल्दै मुख्यमन्त्री कँडेलले चलचित्रमा देखिएको दृश्य भन्दा कर्णालीमा धेरै माथि उठिसकेको बताउनुभयो । समाजमा छोरा पाउने नाउमा छोरीले भोग्नुपरेको यथार्थतालाई उजागर गरी निर्माण गरिएको चलचित्रले बोलेको कुरा स्वयं निर्माता निर्देशकले पनि व्यवहारमा उतार्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “संविधान, संघीयता र समानुपातिक एवं समावेशिताको मर्म बोकेको नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाले नेपाली समाजको चेतनास्तर बिगत भन्दा केही चुलिएको छ । यद्यपि परम्परागत सोच र धारणालाई पूर्णरुपले परिवर्तन गर्न अबको नवपुस्ताले विशेष योगदान दिनुपर्दछ अनिमात्र हरेक समाज शान्त र समृद्ध बन्दछ ।”

जलस्रोत तथा उर्जा विकासमन्त्री बिजया बुढाले कर्णालीको कुप्रथा, कुसंस्कार र कुरिती हटाउने ध्येयले निर्माण गरिएको चलचित्रले समाजको बिम्ब प्रस्तुत गरेको बताउनुभयो । उहाँका अनुसार पुरुषको स्थान र तहमा पुग्न नेपाली महिलाहरुले जनयुद्धदेखि ०६२÷०६३ को आन्दोलनसम्म आईपुग्दा आफ्नो त्याग, समर्पण र बलिदान दिएको बताउनुभयो ।

चलचित्र निर्माता तथा निर्देशक लक्ष्मण सुवेदीे नारीका पीडा, वेदना, व्यथा र विवशतालाई समेटेर बनाइएको चलचित्र ’सतीदेवी’लाई दर्शकले अपार माया दिँदा थप केही गर्ने हौसला मिलेको बताउनुभयो । चलचित्रले समाजको वास्तविक यथार्थलाई चित्रद्वारा प्रष्ट्याएको निर्देशक सुवेदीले जनाउनुभयो । उक्त कार्यक्रममा करिब एक दर्जन कर्णालीका नारीहरुलाई सम्मान गरिएको थियो ।

प्रतिकृया दिनुहोस्