OnlinePana

आज : २०८२ जेठ २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
जेठ २१, २०८२
१८ पटक

१९ जेठ २०८२, सोमबार

सुर्खेतः कर्णाली प्रदेशसभा सदस्यहरुले प्रदेशको भौगोलिक विकटता, जनसंख्या र आवश्यकतालाई ध्यानमा राखेर सन्तुलित बजेट ल्याउन प्रदेश सरकारलाई सुझाव दिएका छन् ।

कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको छैटौं अधिवेशनको सोमबार बसेको आठौं बैठकको विशेष समयमा बोल्दै प्रदेशसभा सदस्य मंगलबहादुर शाहीले दुर्गमलाई पनि न्याय हुने गरी सरकारले सन्तुलित बजेट विनियोजन गर्नुपर्ने र उक्त बजेट विभेदकारी भए मान्य नहुने चेतावनी दिनुभयो । उहाँले कर्णाली प्रदेश स्थानीय तहका कर्मचारीहरुको माग सम्बोधन गर्न प्रदेश सरकार वेवास्ताग्रही रहेको आरोप लगाउँदै तत्काल सो समस्या समाधान गर्न सुझाउनुभयो ।

प्रदेशसभा सदस्य जीतबहादुर मल्लले सिंगो सरकार बजेट निर्माण गर्दै गर्दा यहाँको स्याउ सुन्तला उत्पादन र त्यसको बजारीकरणलाई व्यवस्थित गर्न, सडक कालोपत्र, रारा र कर्णालीको पानी लिएर सगरमाथा आरोहण गर्ने कर्णालीको छोरा अकल बोहोराको सफल आरोहणले यहाँ हिमालको आरोहण खुलाउनेतर्फ कुरामा प्रदेश सरकारले ध्यान पुर्याएर बजेट ल्याउन आग्रह गर्नुभयो ।

प्रदेशसभा सदस्य कल्याणी खड्का सरकारले सुशासन र विकासमा ध्यान दिनुपर्ने र बजेट सामाजिक न्याय दिने गरी ल्याउन आग्रह गर्नुभयो । रनसिंह परियारले हुम्ला नाम्खा गाउँपालिका तिलगाउँका विस्थापित नागरिकहरुलाई पुनःस्थापना गर्न ध्यानाकर्षण गर्नुभयो । प्रदेशसभा सदस्यहरु कलबहादुर हमालले कर्णालीको कृषि, पर्यटन, शिक्षा स्वास्थ्यलाई ध्यान दिएर सरकारले नीति तथा कार्यक्रम र बजेट ल्याउन सरकारलाई सुझाउनुभयो ।

प्रदेशसभा बीरबहादुर शाही र उर्मिला विश्वकर्माले बाटो निर्माणको लागि ब्लाष्टिङको नीति ल्याउनुका साथै फलफुल विकास बोर्ड गठन गर्नुपर्ने धारणा राख्नुभयो । त्यस्तै, प्रदेशसभा सदस्य बेदराज सिंहले अलपत्र परेका पुल निर्माणमा तत्काल सरकारले पहल गर्नुपर्ने सुझाव दिनुभयो । वर्षाका कारण सामान्य अवस्थामा पनि सवारी आवागमनमा आउने अवरोध हटाउन मर्मत संभारको कार्यक्रम ल्याउन उहाँले आग्रह गर्नुभयो ।

सभामा उठेका जिज्ञासाहरुको सात दिनभित्र सम्बन्धित मन्त्रीहरुलाई जवाफ दिन रुलिङ गर्दै सभामुख नन्दा गुरुङले अर्को बैठक यही जेठ २१ गते दिउसो ३ः०० बजे बस्ने जानकारी गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्