

१६ जेठ २०८२, शुक्रबार
कर्णाली प्रदेश सरकारले यहाँको कला, सीप र मौलिक प्रवद्र्धन तथा पुस्तान्तरणका लागि बहुसाँस्कृतिक प्रदर्शनी गरेको छ । मुख्यमन्त्री यामलाल कँडेलले गणतन्त्रको संस्थागत विकास गर्नु हामी सबैको साझा दायित्व भएको बताउनुभएको छ ।
१८औं गणतन्त्र दिवस २०८२ को अवसरमा प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले आज सुर्खेत वीरेन्द्रनगरमा उक्त प्रदर्शनी गरेको हो । कार्यक्रमको उद्घाटन गर्दै कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडलले कर्णालीको भाषा, संस्कृति, कला, साहित्य, भेषभूषाको संरक्षण, प्रवद्र्धन र बालबालिकाहरुको प्रतिभा प्रष्फुटनका साथै प्रदर्शनीले पुस्तान्तरणमा सहयोग पुग्ने बताउनुभयो ।
“प्रदर्शनीमा हाम्रो बिगत र ईतिहास झल्काउने बहुसाँस्कृतिक प्र्रस्तुति देखाइएका छन्,” उहाँले भन्नुभयो, “यसले एकातिर हाम्रो सभ्यता र मौलिक संस्कारको उजागर गरेको छ भने अर्कोतर्फ स्कुले बालबालिकाहरुबीच कलात्मक प्रतिस्पर्धा भएको छ ।” यस्ता कार्यक्रमहरुले हाम्रो पहिचान र अस्तित्व बचाई राख्ने मुख्यमन्त्री कँडेलको भनाई थियो ।
सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले कर्णालीको भाषा, साहित्य, कला, संस्कृतिको संरक्षण तथा प्रवद्र्धनका साथै नवीन प्रतिभा पहिचान गर्ने उद्देश्यले मन्त्रालयले बहुसाँस्कृतिक प्रदर्शनीको आयोजना गरेको बताउनुभयो । यसका लागि प्रदेश सरकार प्रज्ञा प्रतिष्ठान गठन गर्ने तयारीमा रहेको उहाँले जनाउनुभयो ।
प्रदर्शनी कार्यक्रममा यहाँका सत्र विद्यालयका बालबालिकाहरुले भाग लिएका थिए । उक्त कार्यक्रममा सहभागी बालबालिकाहरुले हुड्के, कौडा, साकेला, घाटु, सिंगारु, झ्याउरे, टप्पा, मारुनी, तामाङ सेला, भोटे, धिमाल, सोरठी, ताण्डव नृत्य प्रस्तुत गरेका थिए ।