

१६ बैशाख २०८२, मंगलबार
नेपाल पत्रकार महासंघ जिल्ला शाखा सुर्खेतको संस्थापक अध्यक्ष चिरञ्जिवी अर्याललगायत दर्जन बढी अग्रज पत्रकार सम्मानित भएका छन ।
महासंघ जिल्ला शाखा सुर्खेतको ३४औँ स्थापना दिवस अवसरमा आज वीरेन्द्रनगरमा उनीहरुलाई प्रमाणपत्र र दोसल्ला लगाएर सम्मान गरिएको हो । महासंघले अर्याललगायत संस्थापकहरु बालाराम शर्मा, पीताम्बर ढकाल, डा.दीपक गौतम, श्रीधर पौड्याल, कुमार ढकाल, भानुभक्त भारती, कमलराज रेग्मी, डिल्लीराम पाठक, भरत ज्ञवाली, निरक केसीलाई सम्मान गरेको हो । महासंघका संस्थापक स्व.जीवनकुमार शाक्यलाई भने मरणोपरान्त सम्मान गरिएको छ ।
शाखाको स्थापना दिवसको अवसरमा पहिलो दिन पत्रकार र उद्योग बाणिज्य संघका पदाधिकारीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता, दोस्रो दिन पत्रकारहरुलाई निःशुल्क स्वास्थ्य परीक्षण गरिएको थियो भने आज प्रभातफेरी तथा शुभकामना आदान प्रदान र शाखाका संस्थापकहरुलाई सम्मान गरिएको महासंघ शाखा सुर्खेतका अध्यक्ष सुशीलराज शर्माले जानकारी दिनुभयो ।
सम्मानित संस्थापक तथा अग्रज पत्रकारहरुले अध्ययन र बौद्धिकताको बलमा समाजको वास्तविक चित्र उतार्ने र राज्यलाई सदैव खबरदारी गरिरहने प्रेस जगत्लाई विकास, समृद्धि र समाज रुपान्तरणको द्योतक बनाउनुपर्नेमा जोड दिए । सूचना र प्रविधिको उच्चतम विकाससँगै बदलिएको पत्रकारिता र सञ्चार प्रणालीलाई नागरिकमैत्री बनाउनतर्फ अबका पत्रकार तथा सञ्चारकर्मीहरुको भूमिका रहेको उहाँको भनाई थियो ।
शुभकामना तथा सम्मान कार्यक्रममा बोल्दै महासंघ जिल्ला शाखा सुर्खेतका अध्यक्ष सुशीलराज शर्माले हजारौं पत्रकारहरुको हितमा काम गर्ने र राज्यलाई निर्वाध सचेत बनाई राख्ने महासंघको स्थापना गर्ने व्यक्तिहरुको योगदान अविस्मरणीय हुने बताउनुभयो । अग्रज पत्रकारहरुको त्याग र बलिदानले आजको पत्रकारितालाई सहज गराएको र मनोबल बढाउनुका साथै नयाँ पुस्तालाई नवीनतम् खोजमा लाग्न उत्प्रेरणा दिने काम गरेको उहाँले जनाउनुभयो ।