OnlinePana

आज : २०८३ बैशाख ३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
फागुन १९, २०८१
३१३ पटक

 

१९ फागुन २०८१, सोमबार

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्द (विप्लव)ले समृद्ध देश बनाउन राजनीतिलाई आर्थिक क्रान्तिसँग जोड्नुपर्ने बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित ‘पत्रकार सम्मेलन’ कार्यक्रममा बोल्दै महासचिव चन्दले कृषि तथा आर्थिक क्रान्तिबाट आत्मनिर्भर मुलुक निर्माण अबको मूल सवाल भएको बताउनुभयो । उत्पादनसँग जोडिएको पार्टीको अभियान अन्तरगत सल्यान, रुकुम, रोल्पा, जुम्ला, कालीकोट, दैलेख हुँदै एक महिनाको अवधिमा सुर्खेत आईपुग्नु भएका उहाँले गफ चुट्ने नेताबाट देशको रुपान्तरण संभव नभएको तर्क गुर्नभयो ।

उहाँले भन्नुभयो, “उत्पादनविनाको सुखभोग गर्नु कि भ्रष्टाचार हो कि त भने शोषण गर्नु नै हो । अब उत्पादन अभियानमा जोडिनुको विकल्प छैन । हरेकले पहिलो आफ्नो पार्टी, नेता, कार्यकर्ता आत्मनिर्भर बनाउँ अनिमात्र जनतालाई गएर उत्पादनमूलक कार्यमा जोडौं । विदेशी एवं दातृ निकायहरुसँग ऋण लिने वा भीख मागेर देश समृद्ध बन्न सक्दैन ।”

दुई महिना खाना नपुग्ने अवस्थामा एकातिर समृद्धि कुरा गर्नु अर्कोतिर नेपाल ऋणले चुर्लुम डुब्दै जानुले मुलुकमा संकट बढ्दै गएको भन्ने प्रष्टिएको उहाँले बताउनुभयो । पछिल्लो समयमा मान्छेहरु आफ्नै जीवन, परिवार, समाजप्रति आशावादी नहुनुले राजनैतिक आन्दोलनले जनताको भावना अनुसार काम नगर्दा आज उनीहरुमा निराशा छाएको उहाँको भनाई थियो ।

उहाँका अनुसार कर्णालीका डाँडापाखा ढाकिने गरी स्याउ तथा अन्य कृषि कार्य गर्न सकिन्छ तर अचेल कम्युनिष्ट नेताहरुमा आवारा प्रवृति बढ्दै गएको छ । जनतामा जाँदा हरेकले माओवादी एक हुनुपर्ने इच्छा व्यक्त गरेको पाईयो । नीजि फाइदामा दौड्ने दुनियाँले ध्वंस बाहेक केही नदिने भन्दै उहाँले पूँजवादी चरित्रले आफ्नो फाईदा सिवाय अरु केही नहेर्ने जनाउनुभयो । युक्रेन विदेशी आशयमा चल्दा यो हालतमा आउनुपरेको उहाँको भनाई थियो ।

उपयोग र निषेधवादी नीतिबाट नभई रुपान्तरणकारी सोच र उद्देश्यबाट माओवादी तथा कम्युनिष्ट एकता हुने र त्यो संभव रहेको महासचिव चन्दले बताउनुभयो । राजनीतिक गर्नेले श्रम गर्नुपर्ने भन्दै उहाँले जुम्लामा सात सय स्याउका बिरुवा रोप्नुका साथै कालिकोटमा भेडा फार्म उद्घाटन गरिएको जनाउनुभयो । भेडा फार्ममा अहिले करिब १५० भेडाहरू रहेको र त्यसमा स्थानीय जनताले सहयोग गरेको उहाँले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्