पुस ३० गते । जुम्लाको प्राज्ञिक क्षेत्रको धरोहर बहुमुखी क्याम्पस प्रमुखमा प्रकाशचन्द्र खत्री नियूक्त हुनु भएको छ । त्रिभुवन विश्वविद्यालयले देशका विभिन्न आंगिक क्याम्पस प्रमुख नियूक्त गर्ने क्रममा जुम्लामा उपप्रध्यापक खत्री नियुक्त हुनु भएको हो ।
त्रिवि कार्यकारी परिषदको निर्णय अनुसार जुम्ला बहुमुखी क्याम्पसले पनि नयाँ क्याम्पस प्रमुख पाएको छ । यस अघि जुम्ला वहुमुखी क्याम्पस प्रमुख डाक्टर ओम प्रकाश आचार्यको कार्यअवधि सकिएपछि खत्रीलाई जुम्ला क्याम्पसबाट सहमति गरि एक्लो उमेदवारको रुपमा सिफारिस गरिएको थियो । सोही अनुसार छनौट समितिले नाम सिफारिस गरेर आईतबार त्रिविको कार्यकारी परिषदले २४ बटा क्याम्पस प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको नव नियुक्त क्याम्पस प्रमुख खत्रीले जानकारी दिनुभयो ।
को हुन खत्री ?
जुम्ला तातोपानी गाउँपालिका वडा नम्बर १ निवासी खत्रीले वि.सं २०६४ सालमा जुम्ला बहुमुखी क्याम्पसमा नेपाली शिक्षा बिषयमा शिक्षण सहायक पदमा शुरु गरेर वि.सं २०७४ साल देखी नेपाली शिक्षा बिषयमा उपप्रध्यापक पदमा हाल सम्म कार्यरत हुनुहुन्छ ।वि.सं २०४८ सालमा चन्दननाथ माध्यामिक विद्यालयबाट एस.एल.सी उत्तिर्ण गर्नुभएका खत्रीले वि.सं २०५१ मा जुम्ला बहुमुखी क्याम्पसबाटै नेपाली र भूगोल मुख्य बिषय लिई प्रविणता प्रमाणपत्र, वि.सं २०५७ सालमा सुर्खेत शिक्षा क्याम्पसबाट नेपाली शिक्षामै स्नातक, २०५९ सालमा त्रिवि केन्द्रीय क्याम्पसबाट नेपाली शिक्षामै स्नातकोत्तर, वि.सं २०७७ सालमा एमफिल ग्राजुएट स्कुल अफ एजुकेशन शिक्षा शास्त्र संकाय, त्रिवि कृतिपुरबाट नेपाली शिक्षामा लिडिङ पिएचडि भर्ना भएको र हाल ग्राजुएट स्कुल अफ एजुकेशन शिक्षा शास्त्र संकाय त्रि.वि. कीर्तिपुरमा विद्यावारिधि अध्ययनरत अन्तिम चरणमा पुगेको छ ।
यसैगरी काम गर्ने क्रममा जुम्ला बहुमुखी क्याम्पसमा विभिन्न विभागमा प्रमुख भई काम गरेको अनुभव समेत उहाँको छ । उहाँले नेपाली शिक्षा बिषयका विभिन्न तालिमहरु लिनुका साथै उहाँले तातोपानी गाउँपालिका, चन्दननाथ नगरपालिकाका पाठ्यक्रम तथा पाठ्यपुस्तक, विभिन्न कविता किताब सम्पादन समेत गर्नुभएको छ । नवनियूक्त खत्रीको पत्रकारिता क्षेत्रको समेत अनुभव छ ।