७ पुस २०८१, आईतबार
कर्णालीमा आत्महत्या गर्नेको संख्या अन्य प्रदेशभन्दा कम देखिएको छ । नेपाल प्रहरीको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०÷०८१ मा कर्णालीमा तीन सय २६ जनाले आत्महत्या गरेका छन् ।
कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको समन्वयमा सिएमसी नेपालद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘बालबालिका तथा किशोरी मानसिक स्वास्थ्य सम्बन्धी तालिम निर्देशिका प्रबोधिकरण’ कार्यक्रममा उक्त तथ्याङ्क सार्वजनिक गरिएको हो । उक्त कार्यक्रममा बोल्दै सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले मानसिक रोगबाट कोही अछुतो नरहेको भन्दै यसलाई रोक्न सबैको साझा प्रयास आवश्यक रहेको बताउनुभयो ।
यसका लागि कर्णाली प्रदेश सरकारले ‘मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीतिक कार्ययोजना २०७९’ निर्माण गरी कार्यान्वयनमा लागेको बताउँदै उहाँले घर, विद्यालयमा सचेतनाका कार्यक्रमलाई बढाउनुपर्नेमा जोड दिनुभयो । मन्त्रालयका सचिव दीर्घबहादुर पोखरेलले यहाँका नागरिकहरुको मानसिक स्वास्थ्यलाई रणनीतिक कार्ययोजनामार्फत सुधार गरिने बताउनुभयो ।
कार्यक्रममा सिएमसी नेपालका प्रादेशिक संयोजक हिमालले गैरेले मुलुकमा सबैभन्दा कम आत्महत्या गर्नेको संख्या कर्णालीमा रहेको बताउनुभयो । नेपाल प्रहरीको आर्थिक वर्ष २०८०÷०८१ को तथ्याङ्कलाई उद्रित गर्दै संयोजक गैरले सबैभन्दा बढी कोशी प्रदेशमा एक हजार पाँच सय ५६ जनाले आत्महत्या गरेका छन् । त्यस्तै, बागमती प्रदेशमा एक हजार पाँच सय १०, लुम्बिनी प्रदेशमा एक हजार तीन सय २९, मधेश प्रदेशमा एक हजार दुई सय ९० र सुदूरपश्चिम प्रदेशमा पाँच सय ५५ जनाले आत्महत्या गरेका छन् ।
विश्व आत्महत्या रोकथाम दिवस २०२४ अनुसार २०८०÷०८१ मा नेपालमा बालिका पाँच सय ९२ र बालक तीन सय ३१ जनाले आत्महत्या गरेका छन् । त्यस्तै, पुरुष तीन हजार सात सय २७ र महिला दुई हजार पाँच सय ७३ जनाले आत्महत्या गरेको तथ्याङ्क सार्वजनिक गरिएको थियो ।
उक्त तथ्याङ्क अनुसार २०८०÷०८१ मा नेपालमा सात हजार दुई सय २३ जनाको मृत्यु आत्महत्याका कारण भएको छ । प्रति लाखमा २५ जनाले आत्महत्या गरेका छन् । राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण २०२० अनुसार ६.५ वयस्क र ३.९ प्रतिशत किशोरकिशोरीमा आत्महत्याको सोच गरेको पाईएको छ । त्यस्तै, १५–४५ वर्षका प्रजनन उमेर समुहका महिलाको मृत्युको पहिलो कारण आत्महत्या नै भएको उल्लेख गरिएको छ ।
उक्त कार्यक्रममा बरिष्ठ बाल मनोचिकित्सक डा.अरुणराज कुँवर, बरिष्ठ चिकित्सा मनोविद् डा.पशुपति महतले मानसिक स्वास्थ्य सम्बन्धी आफ्नो प्रस्तुति राख्नुभएको थियो । मानसिक रोग समाजमा भुसको आगोझैं फैलिदै गएका बेला कर्णालीका ३३ स्थानीय तहमा काम गर्दै आएको सिएमसी नेपालले प्रदेश सरकारको मानसिक स्वास्थ्य मनोसामजिक रणनीति कार्यान्वयनमा सहयोग पुर्याएको छ ।