OnlinePana

आज : २०८१ माघ ९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामंसिर २१, २०८१ सुर्खेत
६४ पटक

 २१ मंसिर २०८१, शुक्रबार

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले वीरेन्द्रनगर १२ स्थित निर्माण हुने मानव सेवा आश्रम कर्णाली प्रदेश सरकारकै अभिन्न अंग हुने बताउनुभएको छ ।

मानव सेवा आश्रम सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित ‘श्रीमद् भागवत सप्ताह ज्ञान–विज्ञान महायज्ञ’को उद्घाटन गर्दै उहाँले बिगतदेखि नै प्रदेश सरकारले साथ र सहयोग प्रदान गर्दै आएको मानव सेवा आश्रम प्रदेशस्तरकै संरचनाका रुपमा विकास हुँदै गएको बताउनुभयो ।

मुख्यमन्त्री कँडेलले वीरेन्द्रनगर नगरपालिकाले आश्रम स्थापनामा महत्वपूर्ण भूमिका खेल्दै आएको मानव सेवा आश्रमका हरेक क्रियाकलापमा प्रदेश सरकारको समेत सहभागिता रहेको छ । यसमा प्रदेश सरकार सामेल छ यद्यपि हामीले गर्नुपर्ने धेरै छ,” उहाँले भन्नुभयो, “कर्णाली प्रदेशलाई सडक मानवमुक्त प्रदेश बनाउने अभियान सञ्चालनमा पनि सहयोग रहिआएको छ ।”

चालू आव.०८१÷०८२ मा आश्रम निर्माणका लागि रु.एक करोड बजेट विनियोजन गरेको जानकारी दिँदै उक्त बजेट कार्यान्वयनमा देखिएका जटिलता हटाउने प्रयासमा प्रदेश सरकार तयार रहेको उहाँले जनाउनुभयो । आयोजकले परिकल्पना गरेको आश्रम बनाउन सहयोग गर्ने दाता, स्थानीय सरकारलाई धन्यवाद दिँदै उहाँले प्रदेश सरकारको पूर्ण सहयोग रहने विश्वास दिलाउनुभयो । सबै धर्मावलम्बीका आस्थाका धरोहर विकास र प्रर्वद्धनमा कर्णाली प्रदेश सरकारले सम्मानका साथै आवश्यक सहयोग गर्ने उहाँको भनाई थियो ।

कर्णाली प्रदेशसभाका सभामुख नन्दा गुरुङले महाअभियानमा संकलित रकममा प्रश्न नउठ्ने गरी सदुपयोग गर्न आयोजकलाई सुझाव दिनुभयो । मानव सेवा आश्रम सुर्खेत सेवा केन्द्रको भवन निर्माणार्थ आर्थिक र भावनात्मक सहयोग जुटाउने उद्देश्यले सञ्चालित महायज्ञ उद्घाटन समारोहमा प्रदेश सरकारका मन्त्रीहरु राजीवविक्रम शाह, विनोदकुमार शाह, सुरेश अधिकारी, घनश्याम भण्डारी, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाल, प्रमुख सचिव चुडामणि पौडेललगायतले मन्तव्य राखेका थिए ।

मानव स्मारक अर्थात् मानव सेवा केन्द्र निर्माण गर्ने उद्देश्यले आजदेखि सुरु भई यही मंसिर २८ गते सम्पन्न हुने महायज्ञमा प्रमुख कथावाचक भास्कर कमलनयन गौतमले कथा वाचन गरिरहनु भएको छ । महायज्ञको उद्घाटन अघि बुलबुले उद्यानबाट मंगलगढी चोक, वीरेन्द्र चोक, गणेश चोक, भानु चोक, घण्टाघर चोक हुँदै खुलामञ्चसम्म कलश यात्रा गरिएको थियो । यात्रामा विभिन्न संघ संस्था, विद्यालय, टोल विकास समिति र वीरेन्द्रनगर नगरपालिकाका विभिन्न वडाबाट र विभिन्न समुदायका व्यक्तिहरुको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्