

२१ मंसिर २०८१, शुक्रबार
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा यही मंसिर २४ गते ‘प्रदेश सुरक्षा सम्मेलन’ हुने भएको छ ।
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलको अध्यक्षतामा आज प्रदेश सुरक्षा समन्वय समितिको बैठक सम्पन्न भएको छ । बैठकमा मुख्यमन्त्री कँडेलले ‘प्रदेश सुरक्षा सम्मेलन’को पूर्ण तयारी गर्न सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिनुभएको छ । त्यस्तै, बैठकमा प्रदेशको सुरक्षा अवस्थाको विश्लेषण र प्रदेशका तर्फबाट उठाउने विषयवस्तुका बारेमा छलफल भएको थियो ।
छलफलमा जिल्ला प्रशासन कार्यालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रमुखहरुले सुर्खेत तथा कर्णालीको शान्ति सुरक्षाको अवस्था, त्यसमा देखिएका केही चुनौति र समाधान उपायहरुबारे प्रस्तुत गरेका थिए । उक्त ‘प्रदेश सुरक्षा सम्मेलन’ मा नेपाल सरकारका गृहमन्त्री रमेश लेखक, गृह सचिव गोकर्णमणि दुवाई र सबै सुरक्षा निकायका प्रमुख आउने कार्यक्रम रहेको जनाइएको छ ।