

११ मंसिर २०८१, मंगलबार
जैविक विविधता तथा अनुसन्धानका लागि स्थानीय पहल (लिबर्ड)ले यहाँका स्थानीय महिला कृषक समुहलाई बाख्रा वितरण गरेको छ ।
लिबर्डको ‘बाख्रा उपहार कार्यक्रम’ अन्तरगत वीरेन्द्रनगर नगरपालिका १३ सुर्खेतको रातडाँडाको लगनशील महिला कृषक समुह र बराहताल गाउँपालिका ८ सुर्खेत बेलचौरको धनेरी महिला कृषक समुह, पशु तथा कृषि उत्पादन समुह र दमारेस्थित फुलबारी महिला कृषक समुहलाई बाख्रा वितरण गरेको हो । बेलचौरका दुई महिला कृषक समुहलाई एक सय १०, दमारेकालाई ५२ र रातडाँडाका महिला कृषक समुहलाई ६३ गरी जम्मा दुई सय २५ स्थानीय खरी जातका बाख्रा वितरण गरिएको लिबर्ड ग्रीन कर्णाली सुर्खेतका परियोजना प्रमुख बुद्ध बिकले जानकारी दिनुभयो ।
“बाख्रा वितरणका लागि समुह छनोट र कार्यान्वयन दुवै स्थानीय पालिकासँग समन्वय गरेर गरेका छौं । त्यसमा समुहको आर्थिक अवस्था, पशुपालनको संभावित क्षेत्र र साना महिला किसानहरुको स्वरोजगार सिर्जना एवं आर्थिक सुधार गरी उनीहरुको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले ‘बाख्रा उपहार कार्यक्रम’ सञ्चालन गरिएको हो,” उहाँले भन्नुभयो, “यसबाट प्रत्यक्ष ७९ महिला मात्र नभएर चार सय जना लाभान्वित हुनेछन् ।”
परियोजनाअन्तरगत वीरेन्द्रनगर नगरपालिकाका १८ र बराहताल गाउँपालिकाका १३ युवा, साना किसान, महिला कृषक समुहसँग काम गरिरहेको बताउँदै परियोजना प्रमुख विकले ती समुहमा ९० प्रतिशत महिला रहेको बताउनुभयो । उहाँका अनुसार प्रति बाख्रा रु.नौ हजारका दरले रु.२० लाख २५ हजारको बाख्रा र प्रति बोका रु.३० हजारको दरले ९० हजारको तीन बोका वितरण गरिएको छ ।
बाख्रा पाएपछि भने महिला कृषक समुहका सदस्यहरु उत्साहित भएका छन् । लगनशील महिला कृषक समुहका अध्यक्ष डिलमाया सारुले बाख्रा प्राप्तिले व्यवसायिक बन्न बल पुर्याएको बताउनुभयो । धनेरी महिला कृषक समुहका अध्यक्ष सुमित्रा सिंजाली तथा फुलबारी महिला कृषक समुहका अध्यक्ष तिलसरा मन्दिरले आयआर्जनमा थप सहयोग पुगेको बताउनुभयो । अब यो सहयोगलाई उपलब्धिमूलक हुने गरी बाख्रापालनतर्फ लाग्ने उहाँहरुको भनाई थियो ।
वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख नीलकण्ठ खनालले प्राप्त बाख्रालाई बचाउन र एकबाट दुई हुने पालन गर्न स्थानीय महिला कृषकहरुलाई सुझाउनुभयो । “मागेर सँधैभरि पुग्दैन र यस्तो प्रवृतिले परनिर्भरता बढाउँछ,” उहाँले भन्नुभयो, “आफ्नो मेहनत, सीप र श्रम लगाएर पाएको चीजको संरक्षण गरी त्यसमा वृद्धि गर्नुस् । बरु बाख्रा बिरामी परे भन्नुस् हामी पशु चिकित्सक पठाई दिन्छौं ।”
बराहताल गाउँपालिकाका अध्यक्ष भीमबहादुर भण्डारीले साना तथा महिला किसानहरुको आयआर्जन र आर्थिक वृद्धिमा सहयोग पुगोस् भन्ने उद्देश्य राखेर पालिकाले संस्थाको सहयोगमा बाख्रा वितरण गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “बाख्रा पाल्नुस्, संख्यामा वृद्धि गर्नुस् । यसमा आवश्यक प्राविधिक सहयोगका लागि पालिका तयार छ तर बिगतमाझै बेचेर काटेर खाने प्रवृतिबाट मुक्त हुनुस् ।”