OnlinePana

आज : २०८१ माघ ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामंसिर ५, २०८१सुर्खेत
१९७ पटक

 

४ मंसिर २०८१, बुधबार

पछिल्लो समयमा भुसको आगोझैं सल्किरहेको मानसिक तथा मनोसामाजिक स्वास्थ्य सम्बन्धीको समस्या समाधानमा सबैले साझा मुद्दा बनाएर अगाडि बढ्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

सेन्टर फर मेन्टल हेल्थ एण्ड काउन्सेलिङ (सिएमसी–नेपाल)द्वारा आज सुर्खेत वीरेन्द्रगरमा आयोजिक ‘मानसिक स्वास्थ्यसम्बन्धी प्रदेशस्तरीय समन्वय बैठक’मा सरोकारवालाहरुले मानसिक स्वास्थ्यमा आएको समस्याका कारण समाजमा आत्महत्याका घटना बढ्दै गएको बताएका हुन् । बैठकमा सहभागी कोशिस संस्थाका सूर्यप्रसाद भट्टराईले मानसिक र मनोसामाजिक स्वाथ्य गरिबीसँग जोडिएकोले राज्यले नागरिकहरुको आयआर्जन वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “गरिबीबाट गुज्रेको मान्छे मानसिक रोगी बन्छ । उपचार गर्न जाँदा सरकारले उपलब्ध गरेको स्वास्थ्य बीमामा सस्तो औषधि मात्र पाइन्छ तर महंगो औषधि बाहिर किन्न पठाइन्छ । अनि गरिबीका कारण मानसिक रोगी बनेको बिरामीले कसरी महंगो औषधि किन्न सक्छ ? त्यो त सरकारलाई हेक्का हुनुपर्यो नि ? यसलाई सेवा भन्ने कि सास्ती ?”

राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेशका प्रमुख रमेशकुमार थापाले मानसिक रोगीहरुको मानव अधिकार संरक्षण गर्ने दायित्व राज्य तथा सरकारकै भएको बताउनुभयो । आयोगले अनुगमनकारी एवं समन्वयकारी भूमिका निर्वाह गर्दै आएको बताउँदै उहाँले विश्वव्यापी बढ्दो समस्या बन्दै गएको मानसिक स्वास्थ्यलाई गुम्न नदिन सबै सरकार तथा साझेदार निकायहरुको साझा प्रयास आवश्यक भएको बताउनुभयो ।

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव दीर्घबहादुर पोखरेलले स्रोत, साधन र जनशक्तिको अभाव भएपनि नीतिगत सवालमा कर्णाली अन्य प्रदेश भन्दा अगाडि रहेको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, “हामीले ‘मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीतिक कार्ययोजना–२०७९’ निर्माण गरेका छौं । अब छिट्टै यसको प्रभावकारी कार्यान्वयनमा जोड दिँदैछौं ।”

प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र सुर्खेतका प्रमुख डा.शक्तिकुमार सुवेदीले मानसिक स्वास्थ्य सुधारका लागि घर र विद्यालयबाटै जनचेतनाका कार्यक्रमहरु सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले आयुर्वेदिक उपचार, ध्यान र आध्यात्मिकतालाई जोडेर काम गर्न सकिए मानसिक स्वास्थ्यमा सुधार आउने विश्वास व्यक्त गर्नुभयो ।

सिएमसी नेपालका प्रादेशिक संयोजक हिमाल गैरेले कर्णालीको मानसिक स्वास्थ्य अवस्था सुधारोन्मुख अवस्थामा रहेको बताउनुभयो । प्रदेश सरकारको ‘मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीतिक कार्ययोजना’लाई सघाउने गरी संस्था अगाडि बढेको बताउँदै उहाँले कर्णालीका सात जिल्लाका २५ स्थानीय तहमा काम सुरु गरिएको र सरकारको आवश्यकतामा उच्च हिमाली जिल्ला हुम्लामा पनि काम गर्ने जनाउनुभयो ।

उक्त बैठकमा सिएमसी नेपालका लक्ष्मण नाथले मानसिक स्वास्थ्यसम्बीको राष्ट्रिय रणनीति, यसअन्तरगत नेपाल तथा कर्णाली प्रदेशमा लागु भएका परियोजना तथा कार्यक्रम समेटिएको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । बैठकमा मन्त्रालयका सामाजिक महाशाखा प्रमुख वृषबहादुर शाही, कर्णाली प्रदेश अस्पतालका मानसिक रोग विशेषज्ञ डा.सुशील समदर्शी, स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका सम्पर्क व्यक्ति किरण शर्मा, ईन्सेक कर्णाली प्रदेशका प्रमुख नारायण सुवेदी, कान्ति बाल अस्पतालका बालबालिका तथा किशोरी मनोसामाजिक चिकित्सक डा.दिपेश भट्टराईले आफ्नो भनाई राख्नुभएको थियो ।

 

प्रतिकृया दिनुहोस्