OnlinePana

आज : २०८१ पौष २९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताकार्तिक २९, २०८१सुर्खेत
६८ पटक

२९ कार्तिक २०८१, बिहीबार

कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा मानव सेवा आश्रमको पूर्वाधारका निर्माणका लागि ‘श्रीमद् भागवत् सप्ताह ज्ञान विज्ञान महायज्ञ’ आयोजना गरिने भएको छ ।

मानव सेवा आश्रम कर्णाली प्रदेश सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित ‘पत्रकार स्नेहमिलन’ कार्यक्रममार्फत यही मंसिर २१–२८ गतेसम्म सुर्खेतमा ‘श्रीमद् भागवत् सप्ताह ज्ञान विज्ञान महायज्ञ’ सञ्चालन हुने मूल आयोजक समितिका संयोजक डा.नवराज केसीले जानकारी दिनुभयो । आश्रमले खुला आकाशमुनि रात बिताउन विवस, बेसहारा एवं सडक आश्रित मानवहरुको लागि आवासको उचित व्यवस्थापन गर्न योगदान रकम संकलन गर्ने उद्देश्यले महायज्ञ आयोजना गर्न थालेको उहाँले बताउनुभयो ।

संयोजक डा.केसीले भन्नुभयो, “अब मानव सेवा आश्रमलाई मानव अध्ययन केन्द्रका रुपमा विकास गर्ने गरी संरचना निर्माण जोड दिईनेछ । मानवतालाई स्पर्श गर्ने तीर्थका रुपमा मानवीय स्मारक निर्माण गर्न वीरेन्द्रनगरमा ११ चारकुनेस्थित गंगामाला धार्मिक वन तथा देउती बज्यै सामुदायिक वन उपभोक्ता समितिले करिब २९ बिगाह जमीन आश्रमलाई उपलब्ध गराईसकेको छ । भवन निर्माणका लागि महायज्ञबाट रु.पाँच करोड योगदान रकम संकलन हुने अपेक्षा गरिएको छ ।”

यहाँ धार्मिक मात्र नभएर मानव जीवनका आवश्यक सबै क्रियाकलाप हुने बताउँदै उहाँले महायज्ञमा प्रमुख कथावाचकको रुपमा भागवत् भाष्कर कमलनयन गौतमका साथै सबै धर्म र परम्पराका पण्डित, गुरुहरुको सामुहिक उपस्थिति हुने जनाउनुभयो । उहाँका अनुसार महायज्ञमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति, नाटक, झाँकी प्रदर्शन योग ध्यान, उत्प्रेरणात्मक प्रशिक्षणलगायतका कार्यक्रमहरु पनि आयोजना गरिनेछन् ।

मानव सेवा आश्रमका केन्द्रीय महासचिव सुशीला केसी (रुपा)ले २०७५ माघ १८ गतेदेखि वीरेन्द्रनगर नगरपालिका १२ सुर्खेतमा आश्रमले भाडाको घरबाट सेवा दिँदै गर्दा हालसम्म चार सय छ जना बेसहारालाई उद्धार गरेको बताउनुभयो । उनीहरुको हेरचाह र आवासका लागि भवन निर्माण गर्न कर्णाली प्रदेश सरकारले चालु आर्थिक वषृमा रु.एक करोड विनियोजन गरेको र बाँकी रकम संकलनका लागि यहाँका नागरिक, व्यवसायी, उद्योगी, राजनीतिक दल, नागरिक समाज र पत्रकारलाई आश्रमका संस्थापक र स्वयंसेवकहरुले सहयोगको अपिल गरेको उहाँको भनाई थियो ।

प्रतिकृया दिनुहोस्