OnlinePana

आज : २०८३ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
साउन १७, २०८१
३०० पटक

१७ साउन २०८१, बिहीबार

भूमि व्यवस्था तथा सहकारी रजिष्ट्रारको कार्यालय सुर्खेतमा दर्ता भएका कर्णालीका तीन सय ११ सहकारीहरुको कूल पूँजी रु.१५ अर्ब रहेको छ ।

प्रदेशको नियमन क्षेत्राधिकार भित्रका सहकारीहरुको जिल्लागत प्रकृति तथा विषयगत वर्गीकरणको अवस्था अनुसार सहकारी रजिष्ट्रार कार्यालयमा दर्ता भएका सहकारी संस्थाहरु मात्र तीन सय ११ रहेका छन् । दश जिल्ला तथा दुई भन्दा बढी पालिकालाई कार्य क्षेत्र बनाएर आफ्नो कार्य सञ्चालन गरेका सहकारीहरुको कूल पूँजी करिब रु.१५ अर्ब रहेको रजिष्ट्रार खुमप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

रजिष्ट्रार सुवेदीका अनुसार ती सहकारीको शेयर पूँजी रु.एक अर्ब ७५ करोड ३८ लाख ३३ हजार एक सय ४२ हुँदा बचत रु.आठ अर्ब १९ करोड ४४ लाख ९३ हजार छ सय ३२ रहेको छ । त्यस्तै, रु.११ अर्ब ५१ करोड ६४ लाख ९७ हजार नौ सय ४० ऋण लगानी गरेका सहकारीहरुको जगेडा कोष रु.७१ करोड ४२ लाख ६८ हजार रहेको उहाँले बताउनुभयो ।

रजिष्ट्रार सुवेदीले सहकारीबाट यहाँका एक हजार पाँच सय जनशक्तिले रोजगारी प्राप्त गरेको जनाउनुभयो । कर्णालीमा बचत तथा ऋण, कृषि, बहुउद्देश्यीय, उपभोक्ता, जडिबुटी, तरकारी बीउ, उत्पादन, सामाजिक उद्यमी, विद्युत, उर्जा सोलार, मौरी पालन, सञ्चार, साना किसान, स्वास्थ्य, पर्यटन, वातावरण संरक्षण, निर्माण मजदुर, दुग्ध, घरेलु, शैक्षिकलगायतका सहकारीहरु सञ्चालनमा रहेको सहकारी रजिष्ट्रारको कार्यालय सुर्खेतले जनाएको छ ।

सुर्खेतका एक सय दुई, दैलेखका ३७, जुम्लाका ३४, कालीकोटका ३२, जाजरकोटका २७, सल्यानका २५, रुकुमपश्चिमका २३, हुम्लाका १५, मुगुका ११ र डोल्पाका पाँच सहकारी भूमि व्यवस्था तथा सहकारी रजिष्ट्रारको कार्यालयमा दर्ता भएर सञ्चालन रहेका उहाँले जनाउनुभयो । सहकारी दर्ता गर्ने तर नवीकरण र नियमन गर्ने अधिकार नहुँदा रजिष्ट्रारको कार्यालयको काममा अपेक्षित परिणाम देख्न नसकिएको उहाँको भनाई थियो ।

प्रतिकृया दिनुहोस्