OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
बिक्रम बुढा जेठ ६, २०७७ जापान
३०३९ पटक

टाेकियाे । २०७७ जेठ ५ गते, सोमबार । विश्वभर झै कोरोनाको कारण विदेशी विद्यार्थीहरुलाई जापानमा पनि कठिन भइरहेको छ । कोरोना महामारीका कारण रोजगारदाताहरुले विद्यार्थीहरुलाई कामबाट निकालेपछि यस्तो समस्या आएको हो ।

यतिबेला पढाईको खर्च कसरी निकाल्ने भन्ने मात्रै होइन गुजारा कसरी गर्ने भन्ने चिन्ता पनि छ । धेरैजसो विदेशी विद्यार्थीहरु पढ्ने खर्च जुटाउन रेस्टुरेन्टलगायत विविध स्थलमा आंशिक समय काम गर्दै आएका थिए । यो समयमा जापान सरकारले आपतकाल घोषणा गर्दै अत्यावश्यक बाहेक अन्य सबै व्यवसायहरु बन्द गर्न निर्देशन दिएको छ । आपतकाल् जारी रहुन्जेलसम्मका लागि व्यवसायीहरुले कर्मचारीलाई बिदा बस्न लगाएका छन् ।

यस अघि आपत्कालिन् अवस्था खुलेपछि मे ७ मा व्यवसाय सञ्चालन गरौंला भन्ने सुरमा व्यवसायीहरु थिए । तर सरकारले आपतकाल लम्ब्याएर मे ३१ सम्म पुर्याएपछि जुन महिना लागे यता धेरै विद्यार्थीहरुको काम गुमेको छ ।काम शुरु नै भएपनि यस अघि गर्ने अनुमति पाएको भन्दा कम समय काम गर्न पाइने भन्दै नेपाललगायत विभिन्न देशबाट आएका विद्यार्थीहरुको पीडा उजागर गर्दै एशिया निक्केईले केही दिन अघि मात्रै समाचार छापेको थियो । जनसंख्या बनावटमा परिवर्तन आएसँगै जापानले आवश्यक दक्ष कामदार पूर्ति गर्न विदेशी विद्यार्थीमाथि भर पर्न थालेको छ ।

जापान स्टुडेन्ट सर्भिसेज अर्गनाइजेशन (जास्सो)का अनुसार सन् २०११ मा एक लाख ६४ रहेको विदेशी विद्यार्थीको संख्या सन् २०१९ मा बढेर ३ लाख १० हजार माथि उक्लिएको छ ।एशियाली देशहरुबाट आउने विद्यार्थीका कारण यस्तो तीव्र वृद्धि भएको हो । यी विद्यार्थीहमध्ये अधिकांशले काम गरेर पढाईका खर्चपर्च जुटाउँछन् । सन् २०१० मा कुल विदेशी विद्यार्थीको ६३ प्रतिशत चिनियाँ थिए । चीनलाई पछ्याउने क्रममा १४ प्रतिशत दक्षिण कोरिया, चार प्रतिशत ताइवानी र दुई प्रतिशत मलेशियाली विद्यार्थी थिए । तर सन् २०१९ सम्म आइपुग्दा चिनियाँ विद्यार्थीको अुनपात ४१ प्रतिशतमा झरेको छ भने भियतनामी र नेपाली विद्यार्थीको संख्या बढेर क्रमशः २० प्रतिशत र ७ प्रतिशत पुगेको छ । कोरोना संक्रमणले खुद्रा र मनोरञ्जन उद्योगमा व्यापक हेरफेर ल्याएकोले कैयौं विदेशी विद्यार्थीको आंशिक समयको काम गुमेको छ ।

सरकारको नीति पनि अप्ठ्यारोमा छ । जापानले विदेशी विद्यार्थीलाई हप्तामा २८ घन्टासम्म काम गर्ने अनुमति दिएको छ । अष्ट्रेलिया र बेलायतको तुलनामा यो धेरै हो । जास्सोले गरेको सर्वेक्षण अनुसार ७६ प्रतिशत विदेशी विद्यार्थीहरु (पार्ट–टाइम (आंशिक काम) काममा आबद्ध छन् । यीमध्ये करीब ४२ प्रतिशत रेस्टुरेन्टमा काम गर्छन् । यसैबीच जापान सरकारले कोरोना भाइरसको महामारी फैलिनबाट रोक्न अपनाएका उपायहरुका कारण उत्पन्न आर्थिक कठिनाइहरु कम गर्न हरेकलाई एक मुष्ठमा रु.एक लाख येन नगद सहायता दिँदैछ ।

यहाँ बसोबास गरिरहेका विदेशी नागरिकहरु समेत यो योजनाका लागि योग्य छन् । यहाँ बसोबास गर्दै आएका विदेशी नागरिकहरु पनि आधारभूत आवास दर्तामा आधारित रहेर सरकारले दिने नगद अनुदानका लागि योग्य छन् । यसको अर्थ आवासीय कार्ड (ज्यूमिन्ह्यो) हुने जापानमा रहेका सबै विदेशी यसका लागि योग्य हुनेछन् । यो अनुदानका लागि उमेर वा आयको बन्देज नरहेको जनाईएको छ । टोकियोमा बुधवार बेलुकी ५ः०० बजे सम्मको तथ्याङ्क हेर्दा कोरोना भाइरस संक्रमित १० जना मात्र भेटिएका छन् । यो सँगै टोकियोमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या ४ हजार ९ सय ९७ जना पुगेको छ ।

मंगलबार बिहानसम्ममा घरेलु रुपमा संक्रमित र चीनबाट चार्टर गरी ल्याइएकाहरु सहितको संख्या १५ हजार ९६८ पुगेको छ भने योकोहामा पोर्टमा क्वारेन्टाइन गरेको डाइमण्ड प्रिन्सेस क्रुज पानीजहाजका यात्रुहरुसहितको संक्रमितहरुको संख्या १६ हजार ६८० जना पुगेको छ । जापानको स्वास्थ्य मन्त्रालयका अनुसार आठ हजार ७३३ जना निको भइसकेको जनाईएको छ ।

जापानमा अहिलेसम्म कोरोना भाइरसको कारणले ६५७ जनाको मृत्यु पुष्टि भएको छ भने क्रुज पानीजहाजका यात्रुहरु सहित ६७० जना पुगेको छ । यसैबीच एनआरएनए जापानले कोरोना भाइरसका कारण समस्यामा परेका जापानबासी नेपालीहरुका लागि राहत उपलब्ध गराउन अनलाइन सर्वेक्षण फारम तयार पारेको छ । तय गरिएको मापदण्ड भित्र परेका व्यक्तिहरुलाई विभिन्न किसिमका राहत उपलब्ध गराइने बताइएको छ ।

प्रतिकृया दिनुहोस्