OnlinePana

आज : २०८१ पौष २२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ १६, २०८१सुर्खेत
९३ पटक

१५ असार २०८१, शनिबार

कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिनोदकुमार शाहले कर्णाली समृद्धिको आधार आत्मनिर्भर कृषि नै भएको बताउनुभएको छ ।

‘जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ २१औं राष्ट्रिय धान दिवसको अवसरमा कृषि मन्त्रालयद्वारा आज बराहताल गाउँपालिका ५ सुर्खेत बड्डीचौर आयोजित रोपाई महोत्सवमा बोल्दै मन्त्री शाहले खाद्य सुरक्षाको प्रमुख खाद्यान्न बाली धान भएकोले यसको उत्पादन र उत्पादकत्व दुवै बढाउनुपर्नेमा जोड दिनुभयो । “मुलुकमा अहिले पनि ४३ अर्ब ८० करोड १९ लाखको धान, मकै, कोदो, गहुँलगायतका खाद्यान्न बाली बाहिरबाट आयात भएको छ,” उहाँले भन्नुभयो, “कृषि प्रधान देश नेपाल कृषिमै आत्मनिर्भर हुन सकेको छैन ।”

धान बालीले आर्थिक, साँस्कृतिक र धार्मिक महत्व बोकेको जनाउँदै उहाँले जलवायु परिवर्तनको कारण धान खेतीमा बढ्दो नकरात्मक असरलाई न्यूनीकरण गर्न जलवायु अनुकूलित प्रविधिहरुको अनुसन्धान र विकास एवं उपलब्ध प्रविधिहरुको प्रचार–प्रसार तथा अवलम्बन गर्नुपर्ने बताउनुभयो । उहाँका अनुसार प्रत्येक वर्ष असार १५ गतेलाई नेपालमा राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने दिन अर्थात् हरियाली महिनामा मानो रोपेर, मुरी उब्जाउने स्वर्णीम अवसर पनि ठानिन्छ । यसलाई रोपाई जात्रा, हिलो खेल्ने, दही चिउरा खाने दिन भनेर मनाउने परम्परा रहिआएको छ ।

मन्त्री शाहले कर्णाली प्रदेशमा कुल ४१ हजार नौ सय चार हेक्टर जमिनबाट करिब एक लाख ४५ हजार ६३ मेट्रिक टन धान उत्पादन हुँदै आएको र धान बालीको उत्पादन तथा उत्पादकत्व वृद्धिलाई प्रदेश सरकारले प्राथमिकतामा राखेर अगाडि बढेको बताउनुभयो । महोत्सवमा कृषि सचिव टिकाराम थापा, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव रविलाल शर्मा, कृषि क्षेत्र विकास कार्यक्रमका प्रमुख वासुदेव काफ्लेसहितले मानव अस्तित्व संरक्षण र स्वस्थ जीवनका लागि प्रकृति प्रदत्त धानलगायतका अन्नबाली आवश्यक रहेको बताउुनभयो ।

रोपाई महोत्सवमा बराहताल गाउँपालिकाका अध्यक्षम भीमबहादुर भण्डारी, पूर्व अध्यक्ष तेजबहादुर बस्नेत, कृषि विकास निर्देशनालयका निमित्त निर्देशक चित्रबहादुर राेकाय, पशुपंक्षी विकास निर्देशनालयका निमित्त निर्देशक कृष्णप्रसाद पंगेनी, विश्व खाद्य, लिबर्डका प्रतिनिधिहरु, जनज्योति माध्यमिक विद्यालय बड्डीचौरका प्राचार्य नारायण सिग्देल, शिक्षक, विद्यार्थी, स्थानीय कृषकहरु, विभिन्न क्षेत्रमा कार्यरत गैसस तथा नागरिक अगुवासहित पत्रकार सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

कर्णाली प्रदेशमा ४७ प्रतिशत रोपाईं

कर्णालीमा प्रदेशमा यस वर्ष रोपाई अलि ढिला भएको छ ।समयमा वर्षा नभएकाले रोपाईंमा ढिलाइ भएको मन्त्रालयले जनाएको छ ।

अहिले भने किसानलाई रोपाईं गर्न भ्याइनभ्याइ छ । आकाशे पानीको भर पर्ने किसानका लागि भने समयमा पानी नपर्दा समस्या भएको थियो । कर्णालीका अधिकांश सिंचाई भएका ठाउमा रोपाई भएको छ । असार १५ गतेसम्म यो प्रदेशमा ४७ प्रतिशत रोपाई भएको मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतले जानकारी दिनुभयो ।

कर्णाली १० जिल्ला मध्ये जुम्लामा ९० प्रतिशत, हुम्ला र डोल्पामा ८०÷८० प्रतिशत, मुगुमा ७०, सल्यानमा ५२, जाजरकोटमा ३२, रुकुमपश्चिम ३०, दैलेखमा २७ र कालिकोट १५ प्रतिशत खेतमा रोपाई सम्पन्न भएको प्रवक्ता कठायतले बताउनुभयो । उहाँका अनुसार सबैभन्दा कम सुर्खेत पाँच प्रतिशत मात्र रोपाईं भएको छ ।

उहाँका अनुसार कर्णाली प्रदेशमा कुल ४१ हजार नौ सय चार हेक्टर जमिनबाट करिब एक लाख ४५ हजार ६३ मेट्रिक टन धान उत्पादन हुँदै आएको छ ।

प्रतिकृया दिनुहोस्