OnlinePana

आज : २०८१ कार्तिक ९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ ६, २०८१ सुर्खेत
९८ पटक

 ४ असार २०८१, बुधबार

म्याराथनको उर्बरभूमि कर्णालीलाई खेलका क्षेत्रका माध्यमबाट विश्वमाझ चिनाउन ‘दोस्रो राष्ट्रिय काक्रेबिहार हाफ म्याराथन’ प्रतियोगिता आयोजना गरिने भएकोे छ । कर्णालीको प्रसिद्ध पर्यटकीयस्थल काक्रेबिहार मन्दिर परिसरमा आज मिड वेस्टर्न फिटनेस सेन्टर सुर्खेतद्वारा आज आयोजित ‘पत्रकार भेटघाट’ कार्यक्रममार्फत प्रतियोगिताबारे जानकारी गरिएको हो ।

‘विश्व ओलम्पिक डे’ लाई विशेष अवसर पारेर कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सहयोग, मिड वेस्टर्न फिटनेस सेन्टर सुर्खेतको आयोजना तथा म्याक्स टाईगरको मुख्य प्रायोजन तथा यही असार ७ गते सञ्चालन हुने प्रतियोगिताको तयारी कार्य पुरा भएको बताउँदै प्रतियोगिताका संयोजक प्रमोद हमालले २१ किलोमिटर हाफ म्याराथुन, दश किलोमिटर महिला र पुरुष, पाँच किलामिटर विद्यालयका छात्रछात्रा र तीन किलोमिटर दूरीमा पत्रकारहरुको दौड हुने जानकारी दिनुभयो ।

“प्रतियोगिताका लागि दुई हजार खेलाडीले भाग लिनेछन्,” संयोजक हमालले भन्नुभयो, “राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका सबै धावकहरुका लागि प्रतियोगिता खुला गरिएको छ ।” प्रतियोगितामा प्रथम, द्वितिय, तृतीय र चतुर्थ स्थान प्राप्त गर्ने खेलाडीलाई क्रमशः रु.एक लाख, ५०, ३० र २५ हजार नगद पुरस्कार तथा प्रमाण पत्र प्रदान गरिने जानकारी दिनुभयो ।

आयोजकका अनुसार दश किलोमिटर दौड प्रतियोगिता प्रथम, द्वितिय र तृतीय आउनेलाई क्रमशः रु.दश, सात र पाँच हजार पुरस्कार प्रदान गरिनेछ । पाँच किलोमिटरमा प्रथम, द्वितिय र तृतीय हुनेलाई रु.पाँच, तीन र दुई हजार तथा तीन किलोमिटरका प्रथम, द्वितिय र तृतीयलाई रु.तीन, दुई र एक हजार प्रदान गरिनेछ ।

दौड प्रतियोगिताको सुरु बिन्दु वीरेन्द्रनगर चोकदेखि मंगलगढी, एयरपोर्ट, पिपिरा, धुलियाबिट, सुब्बाकुना र सोही रुट भएर रेडियो नेपाल पुगी पुनः वीरेन्द्रनगर चोक पुग्नुपर्ने आयोजकले जनाएको छ । उक्त प्रतियोगिता सञ्चालनका लागि रु.१५ लाख लागत लाग्ने बताइएको छ ।

प्रतिकृया दिनुहोस्