OnlinePana

आज : २०८१ पौष २४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ ३१, २०८१सुर्खेत
८३ पटक

३१ जेठ २०८१, बिहीबार

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले विपद् प्रतिकार्यका लागि प्रदेश सरकारले पहलकदमी लिने बताउनुभएको छ ।

कर्णाली प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको आज वीरेन्द्रनगर सुर्खेतमा बसेको बैठकमा बोल्दै मुख्यमन्त्री कँडेलले मनसुन पूर्व विपद् प्रतिकार्यको तयारीका लागि सबै विषयगत क्षेत्र तथा सरोकारवालाहरुलाई तयार रहन निर्देशन दिनुभयो । “भूगोल र अवस्थाका हिसाबले जोखिम र नजरका हिसाबले कर्णाली तल छ,” उहाँले भन्नुभयो, “हाम्रै बलबुतामा काम गर्नुपर्छ । विपद्मा हामी सबै एक ठाउँमा आउनुपर्दछ ।”

आपत परेपछि मात्र विपद् जोखिम प्रतिकार्यका बारेमा सोच्ने तर अरुबेला योजना बनाउनमै रमाउने संस्कारको अन्त्य हुनुपर्नेमा जोड दिँदै मुख्यमन्त्री कँडेलले विपद्का बिगतका अभ्यासको अनुभवलाई सिकाईका रुपमा लिएर आईपर्ने समस्या र चुनौतिसँग जुध्ने क्षमता निर्माण गर्नुपर्ने जनाउनुभयो । रु.एक करोड बजेट छुट्याएर सामग्री विनाको गोदाम बनाउने कार्यलाई निरुत्साहित गरी राहत वितरणको तरिकालाई आगामी दिनमा न्यायोचित बनाईने उहाँको भनाई थियो ।

विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले ‘कर्णाली प्रदेश विपद् पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना २०८१’ र ‘कर्णाली प्रदेशको मनसुन पूर्व तयारी तथा प्रतिकार्य कार्ययोजना २०८१’ स्वीकृत गरी कार्यान्वयन गराउने निर्णय गरेको छ । त्यस्तै विपद् व्यवस्थापन क्षेत्रमा कर्णाली प्रदेशमा क्रियाशील विभिन्न साझेदार संस्थाहरुलाई विषयगत समुहहरुसँग समन्वय गरी विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा सहयोग पुर्याउन अनुरोध गर्ने निर्णय गरिएको छ ।

विपद्का समयमा र विपद्पश्चात् विद्युत, टेलिफोन, दमकल, खानेपानी, स्वास्थ्य उपचार, एम्बुलेन्स जस्ता अनिवार्य सेवाको सुनिश्चिता हुनेगरी आवश्यक व्यवस्था मिलाउन सम्बन्धित निकायलाई आग्रह गर्नेलगायतका आठ बुँदे निर्णय भएको आन्तरिक मामिला तथा कानून मन्त्रालय कर्णाली प्रदेश विपद् महाशाखाका प्रमुख कृष्णबहादुर रोकायले जानकारी दिनुभयो । प्रमुख रोकायले प्रदेश विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना, मनसुन पूर्वको तयारी, विपद्सँग सम्बन्धित विषयगत समुहको सक्रियताका विषयमा आफ्नो प्रस्तुति राख्नुभएको थियो ।

बैठकमा नौ विषयगत क्षेत्रका प्रमुख तथा प्रतिनिधिहरुले विपद् तथा मनसुन पूर्वको तयारी र प्रतिकार्यका बारेमा जानकारी दिएका थिए । उनीहरुले विपद् तथा मनसुन पूर्वको तयारी र प्रतिकार्यका लागि चाहिने तालिम प्राप्त जनशक्ति, त्यसमा व्यवस्थापन गर्नुपर्ने बजेट र खेल्नुपर्ने भूमिकाका बारेमा धारणा राखेका थिए ।

प्रतिकृया दिनुहोस्