OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ ४, २०८१ सुर्खेत
९६ पटक

४ जेठ २०८१, शुक्रबार

युवा तथा खेलकुदमन्त्री बिराजभक्त श्रेष्ठले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तीव्र तयारी गर्न निर्देशन दिनुभएको छ ।

मन्त्री श्रेष्ठले आज कर्णाली खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वामित्र संज्यालसहितको टोलीलाई आफ्नै कार्यकक्षमा बोलाएर दशौं खेलकुद प्रतियोगिताको बारेमा जानकारी लिनुभयो । सोही क्रममा उहाँले आगामी मंसिरमा हुने खेलकुद प्रतियोगिता तोकिएकै मितिमा हुने गरी तयारी थाल्न निर्देशन दिनुभएको हो । प्रतियोगिताको आयोजक कर्णाली प्रदेशको उत्साह र पूर्वतयारीले धेरै खुशी लागेको भन्दै मन्त्री श्रेष्ठले अबको केही दिनमा स्थलगत अध्ययनको लागि मन्त्रालयको तर्फबाट टोली खटाइने जनाउनुभयो ।

“दशौं राष्ट्रिय खेलकुदको आयोजक कर्णाली प्रदेश भएपनि सफल बनाउन सबैले लाग्नुपर्छ,” उहाँले भन्नुभयो, “अबको केही दिनमा मन्त्रालयको तर्फबाट रिजल्ट आउने गरी कामको थालनी हुन्छ ।” प्रतियोगिता आयोजना गर्ने मात्र नभई यसले दिने सन्देश र खेल सम्पन्नपश्चात् कुनै न कुनै क्षेत्रमा कर्णालीले गर्ने परिवर्तनको आभासका साथै आर्थिक तथा पर्यटकीय क्षेत्रमा केही नयाँ पाउने गरी लाग्नुपर्ने मन्त्री श्रेष्ठको भनाई थियो ।

छलफलमा कर्णाली प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव सञ्ज्यालले राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको इतिहाँस हेर्दा धेरै पटक प्रतियोगिता सरेको तर कर्णालीमा मिति तय भइसकेकोले सोही अनुसार तयारीमा जुटेको बताउनुभयो । कर्णाली प्रदेशले आफ्नो आन्तरिक तयारी बलियो बनाइसकेकाले तोकिएको मिति भन्दा प्रतियोगिता सार्न नहुनेमा उहाँको जोड थियो ।

“हिजो खेल पूर्वाधारको अभाव देखाएर धेरै पटक कर्णालीले राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको अवसर लिन सकिरहेको थिएन । अहिले कर्णाली हरेक हिसाबले सक्षम छ,” ‘सदस्य सचिव संज्यालले भन्नुभयो, “प्रतियोगिता तोकिएको मितिमा हुन्छ भन्नेमा हामी त ढुक्क छौं । यद्यपि तोकिएको मिति सरिहाले कर्णाली दोषी हुनेछैन । त्यो संघीय सरकार, राष्ट्रिय खेलकुद परिषद् वा विभागीय मन्त्रालयले जिम्मेवारी लिनुपर्छ ।”

त्यसैबीच उहाँले प्रत्येक पटक राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुँदा खेलहरु भारी मात्रमा थपिदै गएको भन्दै खेल थप्नु भन्दा यसको वर्गीकरण गरेर निश्चित मापदण्ड बनाउनुपर्ने सुझाव दिनुभयो । बिगतमा राष्ट्रिय खेलकुद परिषदले व्यवस्थापकीय जिम्मेवारी सबै आफु लिन खोज्दा अवस्था भद्रगोल भएको औंल्याउनुभएका सदस्य सचिव सञ्ज्यालले दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रदेशले पाउनुपर्ने जिम्मेवारीमा परिषदले हस्तक्षेप नगर्न अनुरोध गर्नुभयो ।

प्रतिकृया दिनुहोस्