OnlinePana

आज : २०८१ पौष १० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ १, २०८१सुर्खेत
१४० पटक

१ जेठ २०८१, मंगलबार

कर्णाली प्रदेश सरकारका प्रमुख सचिव चुडामणि पौडेलले स्वस्थ जीवनका लागि योगाभ्यास आवश्यक रहेको बताउनुभएको छ ।

प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्र सुर्खेतद्वारा आयोजित तीन दिने ‘योगध्यान, सकरात्मक व्यवहार सम्बन्धी स्वास्थ्य प्रवद्र्धन कार्यक्रम’को आज समापन कार्यक्रममा बोल्दै प्रमुख सचिव पौडेलले अनुशासनहिन् आहार विहारका कारण आज मानव जीवनशैली कष्टकर बन्दै गएको बताउनुभयो । उहाँले भन्नुभयो, “आयुर्वेद ढिलो भएपनि यो प्रभावकारी चिकित्सा पद्धति हो । सबैले अवलम्बन गर्नै पर्छ ।”

तीनसम्म भएको स्वास्थ्य प्रवद्र्धन कार्यक्रममार्फत योग साधना, ध्यान र व्यवहारिक कुरा सिकाए बताउँदै प्रमुख सचिव पौडेलले हाम्रो पूर्वीय दर्शनमा आधारित आयुर्वेदिक चिकित्सा पद्धति अहिले पश्चिमाहरुले अवलम्बन गर्न थालिसकेको जनाउनुभयो । आयुर्वेदिक पद्धतिको प्रचार व्यक्तिको मानसपटलमा पुर्याउनुपर्ने भन्दै उहाँले आगामी आव.मा प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्रले ल्याउने कार्यक्रमलाई प्राथमिकतामा राखेर सरकारले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

अनुसन्धान केन्द्रका निमित्त निर्देशक डा.शंकरप्रसाद रिजालले विश्व महामारीका रुपमा देखिन थालेको मानसिक रोगको उपचार प्रमुख माध्यम प्राकृतिक चिकित्सा विधि भएको बताउनुभयो । “योगाभ्यास र ध्यानले स्मरण शक्ति, सौन्दर्यता, आत्मविश्वास, व्यक्तित्व विकासदेखि मानव जीवनका समग्र पक्षलाई सन्तुलनमा राख्न ठूलो सहयोग पुर्याउँछ,” निर्देशक रिजालले भन्नुभयो, “हामीले धेरै जानेका छौं तर ती कुरालाई हाम्रो दैनिकीमा सकरात्मक प्रभाव पर्ने गरी कार्यान्वयनमा ल्याऔं ।”

योगध्यान तथा सकरात्मक व्यवहार सम्बन्धी आयोजित स्वास्थ्य प्रवद्र्धन कार्यक्रममा आरोग्य नेपाल ललितपुरका प्रशिक्षकद्वय डा.विनोद घिमिरे र डा.बिहानी सञ्ज्याले मानसिक स्वास्थ्यमा देखापर्ने तनाव, चिन्ता, निराश, वैराग्यता, रिस, डाह, ईष्र्या, बदलाभावबाट कसरी मुक्त हुने, जीवनलाई सहज बनाउने विधि, योगाभ्यास र ध्यानका बारेमा तीन दिनसम्म सहभागीहरुलाई प्रशिक्षण दिनुभएको थियो ।

प्रशिक्षकद्वयले शरीर र मनलाई शुद्ध बनाउने तरिका, आसनका विधि र शान्त जीवन निर्माणका लागि व्यक्तिले अपनाउनुपर्ने उपाय र पुरा गर्नुपर्ने जिम्मेवारीका विषयमा पनि जानकारी गराउनुभयो । उक्त कार्यक्रममा ७० जनाभन्दा बढीको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्