OnlinePana

आज : २०८१ पौष १० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ १, २०८१सुर्खेत
१२० पटक

१ जेठ २०८१, मंगलबार

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले ५० प्रतिशत काम भएका योजनालाई निरन्तरता दिने बताउनुभएको छ ।

प्रदेश सरकारको आगामी आव.०८१०÷८२ का लागि कस्तो नीति तथा कार्यक्रम आउनुपर्छ विषयमा आज यहाँ आयोजित ‘पत्रकारहरुसँग विमर्श तथा सुझाव संकलन’ कार्यक्रममा बोल्द मुख्यमन्त्री कँडेलले प्रदेश सरकारले बिगतकै नीति तथा कार्यक्रममाथि टेकेर आगामी नीति तथा कार्यक्रम आउने बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले बिगतलाई च्वाट्टै छोडेर नयाँ नीति तथा कार्यक्रम र बजेट आउँदैन । ५० प्रतिशत काम भएका योजना पूर्णताका लागि सरकारले विशेष प्राथमिकतामा राख्छ ।”

संघीय सरकारको कूल बजेटको दुई प्रतिशत मात्र कर्णालीमा आएको बताउँदै उहाँले यहाँको भूगोल, विकटता र विकासको अवस्थालाई हेरेर संघीय सरकारले बजेट विनियोजन गर्नुपर्ने बताउनुभयो । कर्णालीको विकास र समृद्धिका लागि सुर्खेत–हुम्ला, सुर्खेत–डोल्पा, कालीकोट–मुगु–नाक्चेलाना र चार लेनको कोहलपुर–सुर्खेत सडकलाई राष्ट्रिय गौरवका आयोजना घोषणा गरी अगाडि बढाउन संघीय सरकारसँग माग गरिसकेको उहाँको भनाई थियो ।

उहाँका अनुसार कर्णालीका मूलभूत समस्या र संभावनाबारे अवगत गराएर ती आयोजना निर्माणका लागि अलग्गै संरचना निर्माणगरी आवश्यक जनशक्ति र स्रोत व्यवस्थापन गर्न भनेर वित्तिय परिषद्को बैठकका संघीय सरकारलाई मागपत्र दिइएको छ । प्रदेश सरकार अहिले नीति तथा कार्यक्रम र बजेट निर्माणको पूर्वतयारीमा लागेको छ । संस्थागतरुपमा आउने योजनाहरुलाई बजेटमा संलग्न गरिनेछ । अनधिकृत योजना समावेश गर्ने वातावरण तयार हुन दिने छैन ।

आगामी वर्षमा खर्चको मात्र बढाउने क्षमताको विकास गर्ने नीति तथा कार्यक्रम र बजेट ल्याउने बताउँदै मुख्यमन्त्री कँडेलले भन्नुभयो, “रोजगारका निम्ति एक सय एक जना लाइनमा छन् तर मैले सरकार सञ्चालनमा सहयोग गर्ने मान्छे खोजीरहेको छु । यहाँको जनमत र कर्णाली बनाउने गरी हामी एकसाथ अगाडि बढौं । विकासमा हामी सबैको अपनत्व गराउन र नीति तथा कार्यक्रममा राय आओस् भन्ने हेतुले यहाँका सबै दल तथा नागरिक समाजसँग पनि बस्दैछु ।”

समय मिलाएर आफूलाई प्रयोग गर्न पत्रकारहरुलाई सुझाउँदै सरकार अन्तबाट चलाउने स्थिति हुन नदिने उहाँले दावी गर्नुभयो । मुख्यमन्त्री कँडेलले भन्नुभयो, “प्रदेश बनाउनुछ, लुकाएर बन्दैन । कर्णालीको विकास र यहाँका नागरिकहरुका विरुद्ध कुनै सहमति गर्ने छैन । जतिसक्दो सरकारले पत्रकारहरुका समस्यालाई सम्बोधन हुने नीति तथा कार्यक्रम र बजेट ल्याउने विश्वास दिलाउन चाहान्छु ।”

प्रतिकृया दिनुहोस्