OnlinePana

आज : २०८३ बैशाख ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
बैशाख २७, २०८१
४४४ पटक

२७ बैशाख २०८१, बिहीबार

कर्णालीको खेल पर्यटन प्रवद्र्धनका लागि ‘काक्रेबिहार म्याराथन दौड प्रतियोगिता’को दोस्रो संस्करण सञ्चालन हुने भएको छ ।

मिड वेस्टर्न फिटनेस सेन्टर सुर्खेतले आज वीरेन्द्रनगर सुर्खेतमा पत्रकार भेटघाट कार्यक्रम गर्दै ‘ओलम्पिक डे’को अवसर पारेर आगामी असार ७ गते हाफ म्याराथन दौड प्रतियोगिता सञ्चालन गर्ने भएको छ । प्रतियोगिताबारे जानकारी दिँदै कर्णाली खेलकुद विकास परिषद्का उपाध्यक्ष तथा प्रतियोगिताका संयोजक प्रमोदजंग हमालले कर्णालीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने, खेल क्षेत्रको विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिताको तयारी थालिएको बताउनुभयो ।

“कर्णाली खेल क्षेत्रको उर्वर भूमि हो । खेलको माध्यमबाट स्वस्थ नागरिक उत्पादन गर्नुपर्ने छ,” उहाँले भन्नुभयो, “पर्यटन प्रवद्र्धन गर्न र यहाँको आर्थिक समृद्धिमा यसले ठूलो सहयोग पुग्ने अपेक्षाका साथ म्याराथन दौड प्रतियोगिताको आयोजना गरिएको हो ।” प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्टि खेलाडीका साथै यहाँका सबै विद्यालयहरुको प्रतिनिधित्व हुने गरी दुई हजार विद्यार्थी सहभागी गराइने उपाध्यक्ष हमालले जनाउनुभयो ।

मिड वेस्टर्न फिटनेस सेन्टरका अध्यक्ष सञ्जीव हमालले प्रतियोगितामा प्रथम, द्वितिय, तृतीय र चतुर्थ स्थान प्राप्त गर्ने खेलाडीलाई क्रमशः रु.एक लाख, ५०, ३० र २५ हजार नगद पुरस्कार तथा प्रमाण पत्र प्रदान गरिने जानकारी दिनुभयो । प्रतियोगताको पाँचौंदेखि दशौस्थानसम्म आउने खेलाडीहरुलाई जनही रु.२५ हजार नै प्रदान गरिने उहाँले बताउनुभयो ।

अध्यक्ष हमालका अनुसार प्रतियोगितामा सहभागी हुन आउने सुर्खेतबाहिरका सबै खेलाडीहरुलाई आयोजकले नै खाना तथा आवासको व्यवस्था गर्नेछ । कर्णाली प्रदेश प्रदेश खेलकुद विकास परिषद्को सहकार्यमा सञ्चालन हुने प्रतियोगितामा प्रदेश सरकारको रु.तीन लाख र बाँकी आयोजकले व्यवस्थापन गर्ने गरी रु.१५ लाख बजेट खर्च हुने जनाइएको छ ।

प्रतिकृया दिनुहोस्