OnlinePana

आज : २०८१ जेठ ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताबैशाख २३, २०८१दैलेख
५० पटक

२३ बैशाख २०८१, आइतबार

नेपाल सरकारका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालको आर्थिक समृद्धिको ढोका दैलेखबाट खुल्ने बताउनुभएको छ ।

दैलेखको भैरवी गाउँपालिका १ जलजलेमा सुरु गरिएको पेट्रोलियम अन्वेषणको अन्तिम अन्वेषण कार्यअन्तरगतको आज ड्रिलिङ कार्यको उद्घाटन गर्दै मन्त्री भण्डारीले पेट्रोलियम पदार्थको अन्तिम अध्ययनले सफलता प्राप्त गर्ने र आर्थिक समृद्धिको ढोका दैलेखबाटै खुल्नेमा आशावादी रहेको बताउनुभयो । आयोजना स्थलमा नेपाल र चीनको झण्डा राखेर उहाँले औपचारिक उद्घाटन गर्नुभएको हो ।

मन्त्री भण्डारीले तत्कालीन प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष के.पी.शर्मा ओलीको पालामा कार्य प्रारम्भ भएको आयोजना वर्तमान सरकारले पनि उच्च प्राथमिकतामा राखेर कार्यलाई तीव्रता दिएको बताउनुभयो । “सुखी नेपाली र समृद्ध नेपालको चाहना पुरा गर्नका लागि सरकारले विशेष महत्वका आयोजनाहरुलाई छिटो भन्दा छिटो कार्यान्वयनको चरणमा पुर्याउने तयारी गरिरहेको छ,” उहाँले भन्नुभयो ।

खानी तथा भू–गर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले अन्वेषणको अन्तिम अध्ययनले सकारात्मक प्रतिवेदन प्राप्त भएमा दैलेख नेपालको आर्थिक समृद्धि केन्द्र बन्ने जिकिर गर्नुभयो । “देश विदेशमा अन्वेषणको विषयले चर्चा पाएको छ,” उहाँले भन्नुभयो, “आम नेपालीमा खुसी छाएको छ । यसमा हामी पनि उत्साहित भएका छौँ ।”

ड्रिलिङ कार्यको औपचारिक उद्घाटन लगत्तै उद्योग मन्त्री भण्डारी, खानी तथा भू–गर्भ विभागका महानिर्देशक घिमिरे, प्रतिनिधि तथा प्रदेशसभा सदस्यहरुले आयोजना स्थलको अध्ययन र अवलोकन गर्नुभएको थियो । नेपालगञ्जबाट आयोजनास्थल दैलेखको जलजलेमा पुगेका एकसय ५० बढी ट्रकका समानहरु झारेर जडानको कार्य तत्कालै थालिएकोले काम छिटो भएको खानी तथा भू–गर्भ विभागले जनाएको छ ।

विभागका अनुसार आगामी ६ महिनामा अन्तिम अन्वेषण सम्पन्न हुनेछ । अध्ययन पछि कति परिमाणमा पेट्रोल र ग्याँस भण्डारण छ भन्ने कुरा पत्ता लाग्नेछ । आर्थिक हिसाबले उत्पादन योग्य भएको खण्डमा प्रशोधनसहितका अन्य प्रक्रियाहरु सुरु हुनेछन् । नेपाल र चीन सरकारबीच विसं.२०७५ सालमा भएको जिटुजी सम्झौता अनुसार चीन सरकारको करिब रु.दुई अर्ब ५० करोड अनुदान लागतमा अध्ययनको काम भइरहेको बताइएको छ ।

प्रतिकृया दिनुहोस्