OnlinePana

आज : २०८१ पौष ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताबैशाख २१, २०८१सुर्खेत
१२६ पटक

२१ बैशाख २०८१, शुक्रबार

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले अबको अभिभारा जनताको अवस्था बदल्ने भएको बताउनुभएको छ ।

नेकपा एमाले सुर्खेत पश्चिमको पञ्चपुरी नगरपालिकाको आज आयोजित दोस्रो नगर अधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मुलुकमा व्यवस्था बदलिएपनि जनताको अवस्था बदलिन नसकेको बताउनुभयो । “बिगत आन्दोलनको समय थियो । त्यतिबेला हरेकलाई आन्दोलनमा हिडायौं तर आज त्यो अवस्था छैन । आज विद्यालय निर्माण, बालबालिकाको शिक्षा, स्वास्थ्यलगायत हरेक नागरिकका हक अधिकारहरुलाई सुरक्षित गर्दैै लैजानुपर्ने अभिभारा हाम्रो काँधमा छ ।”

नयाँ नेपाल निर्माण र समृद्धिको अभियान अगाडि बढाउने जिम्मा नेकपा एमालेको काँधमा आएको बताउँदै उहाँले यो अभियानमा लामवद्ध भएर लाग्न पार्टी अगुवा कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो । जनताको काम गर्न र साझा अभियानमा लाग्न त्यागको कुरा चाहिने उहाँको भनाई थियो ।

उहाँले भन्नुभयो, “हामी राजनीति जनताको सेवाका लागि गरिरहेका छौं । नेकपा एमाले निर्माणको अभियानमा जुट्ने पार्टी हो । निर्माणको अभियानलाई गन्तव्यमा पुर्याउन नगर÷गाउँ कमिटिले शिक्षा, स्वास्थ्य, कृषि, सडक, खानेपानी, विद्युत, सञ्चार, पर्यटनलगायका क्षेत्रको विकासका लागि योजना आयोगको काम गर्न सबै तहका पार्टी कमिटिमा छलफल हुनुपर्छ । अधिवेशनमा चहलपहल गरेर त्यसपछि मस्त आराम गर्ने काम कहिल्यै नगर्नुस् । आफ्नो व्यक्तिगत स्वार्थका लागि राजनीति गर्ने नेता कार्यकर्ता एमाले हुन सक्दैन ।”

चुनाव आउँदा खर्च पानीको व्यवस्था गर्ने गलत परिपार्टी अन्त्य गरेर जानुपर्नेमा जोड दिँदै उहाँले स्वाभिमान, इमान र व्यक्तित्वको राजनीति गर्न आग्रह गर्नुभयो । आजको व्यवस्थाले महिला, दलित, आदिवासी÷जनजाति, पिछडिएको, अल्पसंख्यक, सीमान्तकृत वर्गको अवस्थालाई बिगतभन्दा धेरै माथि ल्याएको भन्दै मुख्यमन्त्री कँडेलले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको संस्थागत विकासमा सहयोग पुग्ने कार्यक्रम एमालेले अगाडि बढाउने बताउनुभयो ।

प्रतिकृया दिनुहोस्