OnlinePana

आज : २०८१ जेठ ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताबैशाख १७, २०८१ सुर्खेत
३९ पटक

 १७ बैशाख २०८१, सोमबार

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असारे विकास पूर्णरुपले निरुत्साहित गरिने बताउनुभएको छ ।

कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको तेस्रो अधिवेशनको आज बसेकाे एघारौं बैठकमा बोल्दै मुख्यमन्त्री कँडेलले असार १ गते भन्दा उता विनियोजित स्वीकृत योजना सम्झौता, कोटेसन र त्यही वर्ष कार्यान्वयन गर्ने गरी टेण्डर गर्ने कुरा पूर्णरुपले बन्द गर्नुपर्ने बताउनुभएको हो । उहाँले भन्नुभयो, “चालु आ.व.का स्वीकृत योजना जेठसम्म सम्झौता गर्नुपर्नेछ । असारे विकासका नाममा हुने कामबाट सरोकारवालाले प्रश्न गर्ने स्थिति आउन दिनुहुदैन ।”

प्रदेश सरकारकाद्वारा विनियोजित बजेट थोरै तोकेका कारण कामको गति सुस्त नगरी काम द्रुत गतिमा अगाडि बढाउनुपर्ने भन्दै उहाँले सञ्चालित क्रमागत र बहुवर्षीय योजनाको दायित्व आफू नेतृत्वको सरकार पुरा गर्ने बताउनुभयो । बिगतको सरकारको अनुभूति र अनुभवका आधारमा आगामी आव.२०८१÷०८२ को नीति तथा कार्यक्रम र बजेट विश्वास सदनलाई दिलाउनुभयो ।

संघीय सरकारको बजेट निर्माण गर्ने अन्तिम प्रक्रियामा भएकोले सरकार गठन भएपछि कर्णाली प्रदेशका जनप्रतिनिधि तथा सरोकारवाला सबैको प्रतिनिधित्व गर्ने चार योजनाका बारेमा आवश्यक जनमत र अनुभूति गर्ने गरी न्यूनतम प्रयत्न गरिएको उहाँले जनाउनुभयो । मुख्यमन्त्री कँडेलले अर्को अधिवेशन समाप्त नहुँदै जिल्लाको गतिविधिको प्रत्यक्ष अवलोकन गरी त्यहाँको अवस्था जानकारी गराएमा सरकारलाई नीति तथा कार्यक्रम निर्माण गर्न सहयोग पुग्ने बताउनुभयो ।

मुख्यमन्त्री कँडेलले भन्नुभयो, “बनाउने हो, लुकाउनुपर्ने कुनै कुरा छैन । पारदर्शी योजना बनाएर जनविश्वास दिलाउने हो । सबैलाई संलग्न बनाएर सरकारको नीति कार्यक्रम र बजेट निर्माण गर्ने हो । नीति तथा सिद्धान्तको प्राथमिकता रहेर बजेटमा छलफल गर्नुपर्छ । जेठको पहिलो हप्तादेखि प्रदेशसभा सदस्यहरुको प्रत्यक्ष सहभागितामा सरकारको तर्फबाट आवश्यक छलफल थालिने छ ।”

रु.३० र १५ लाख भन्दा मुनिका योजना कार्यान्वयनका लागि प्रदेशसभामा भएको सहमति र बिगत सरकारको मर्म अनुसार कार्यान्वयन गरिने उहाँले बताउनुभयो । मुख्यमन्त्री कँडेलले आफ्नो निर्वाचन क्षेत्रमा गएर वस्तुनिष्ठ रिपोर्टसहित सबै प्रदेशसभा सदस्यहरु अर्को अधिवेशन सहभागी हुने अपेक्षा गरेको बताउँदै सदस्यको महत्वपूर्ण सुझाव सल्लाह सरकारका निम्ति मार्ग निर्देशन हुने विचार व्यक्त गर्नुभयो ।

 

प्रतिकृया दिनुहोस्