OnlinePana

आज : २०८१ बैशाख १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताचैत्र २७, २०८०सुर्खेत
२५ पटक

२७ चैत २०८०, मंगलबार

कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री पदका लागि नेकपा एमाले कर्णाली प्रदेशसभा दलका नेता यामलाल कँडेलले दावी पेश गर्नुहुने भएको छ ।

कर्णाली प्रदेश प्रमुख तिलक परियारले मुख्यमन्त्री पदका लागि दावी पेश गर्न दिएको समयसीमा आज बेलुका ५ः५० समाप्त हुँदैछ । सत्ता साझेदार दल नेकपा एमाले र माओवादी केन्द्रबीच मन्त्रालय बाँडफाँडका लागि भएको छलफल टुंगोमा नपुगेपछि आज मात्र मुख्यमन्त्री पदका लागि नेता कँडेलले दावी पेश गर्ने प्रदेश सरकार प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णबहादुर जिसीले जानकारी दिनुभयो ।

“आज मुख्यमन्त्री पदमा दावी पेशका लागि माओवादी केन्द्रले नेता कँडेललाई समर्थन गर्दछ,” उहाँले भन्नुभयो, “तर मन्त्रालय बाँडफाँडमा कुरा नमिलेसम्म माओवादी सरकारमा जाँदैन ।” उहाँका अनुसार सभामुखमा दावी छोडेकोले माओवादीले आर्थिक मामिला तथा योजना, भौतिक पूर्वाधार तथा सहरी विकास, उद्योग, पर्यटन, वन तथा वातावरण र सामाजिक सामाजिक विकास मन्त्रालय आफुले पाउनुपर्ने दावी राख्दै आएको छ ।

नेकपा एमाले कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक टेकराज पछाईंले महत्वपूर्ण सबै मन्त्रालय माओवादीले दावी गरेपछि मन्त्रालय विभाजनमा समस्या आएको बताउनुभयो । “हामीले मुख्यमन्त्रीसहित माओवादी केन्द्रको एक मन्त्री पठाएर अहिले सानो आकारको सरकार बनाउँ भनेका छौं,” उहाँले भन्नुभयो, “विश्वासको मत लिईसकेपछि सरकार विस्तार गरौं भन्दा उहाँहरु (माओवादी)ले मान्नु भएको छैन । संभवतः आज नेता कँडेलले मुख्यमन्त्री पदका लागि मात्र दावी पेश गर्ने सहमति भएको छ ।”

संवैधानिक संकट टार्न भएपनि आज कर्णालीमा मुख्यमन्त्री नियुक्त हुने वातावरण तय भएको छ । प्याकेजमै सहमति नभएसम्म सरकारमा नजाने माओवादीको अडान छ भने सानो आकारको सरकार गठन गरेर विश्वासको मत लिईसकेपछि मात्र सरकार विस्तार गर्ने रणनीतिमा एमाले देखिन्छ ।

 

प्रतिकृया दिनुहोस्