OnlinePana

आज : २०८१ पौष ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामाघ ९, २०८०सुर्खेत
४१९ पटक

 ९ माघ २०८०, मंगलबार

कर्णाली प्रदेशअन्तरगत दश जिल्लाका १४ लाख ३९ भेडाबाख्रालाई पिपिआर खोप लगाउने अभियानको शुभारम्भ गरिएको छ ।

कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्माले बराहताल गाउँपालिका ८ सुर्खेतस्थित कुमीकोटमा आज डाक्टर प्रतिभा श्रेष्ठ र सोविना मल्ललाई खोप हस्तान्तरण गरी खोप अभियानको शुभारम्भ गर्नुभएको हो । अभियानको शुभराम्भ गर्दै मन्त्री शर्माले भेडाबाख्राको रोग प्रतिरोधात्मक क्षमता बढाउन र किसानहरुको व्यवसाय संरक्षण गरी उनीहरुको आयआर्जन सुनिश्चित गराउन अभिायन शुभारम्भ गरिएको बताउनुभयो ।

“कर्णालीबाट निर्यात हुने खसी बोका नै जसमा यो प्रदेश आत्मनिर्भर छ,” उहाँले भन्नुभयो, “विशेषगरी सुर्खेत, दैलेख र सल्यानमा खसी बोका हुने गर्दछ ।” सन् २०३० सम्ममा भेडाबाख्रामा लाग्ने महामारी रोगको उन्मूलन गर्न र पशुधनलाई सुरक्षित गरी किसानहरुको जीवनस्तर उकास्न सरकार लागि परेको मन्त्री शर्माको भनाई थियो ।

उहाँका अनुसार कर्णाली प्रदेशबाट सबैभन्दा बढी खसी बोकाहरु निकासी हुन्छन् । पशु धन सुरक्षा गर्न प्रदेश सरकार जहिले पनि किसानसँगै रहेकाले किसानको गोठबाट अभियान सुरु गरिएको हो । बाख्रापालनको लागि पकेट क्षेत्रको रुपमा रहेको बरातालको कृषि र पशु क्षेत्र विकासमा प्रदेश सरकार तयार रहेकोले कृषि र पशुपालन क्षेत्रमा लाग्न किसानहरुलाइ उहाँले आग्रह गर्नु भयो।

पशुपंक्षी विकास निर्देशनालय कर्णाली प्रदेशका निमित्त निर्देशक कृष्णप्रसाद पंगेनीले भेडाबाख्राको क्षेत्रमा यो संक्रामक रोग महामारी नै भएकोले त्यसबाट बचाउन अभियानको शुभारम्भ गरिएको बताउनुभयो । उहाँका अनुसार सुर्खेतमा मात्र तीन लाख भेडाबाख्रा छन् । कर्णालीभरि करिब साढे १४ लाख भेडाबाख्रा भएकोले संघीय सरकारको सहयोगमा पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामार्फत् पर्याप्त मात्रामा खोप उपलब्ध भइसकेको छ ।

निर्देशक पंगेनीले भन्नुभयो, “जाजरकोट, रुकुमपश्चिम, सल्यान, सुर्खेत र दैलेखमा पहिलो चरणमा माघमा र कालीकोट, जुम्ला, डोल्पा, मुगु तथा हुम्लामा चैतदेखि पिपिआर खोप लगाउँछौं । यो खोप भेडाबाख्रामा एक पटक लगायो भने तीन वर्षसम्म पुग्छ । यदि लगाएन भने ५० देखि ९० प्रतिशत मृत्युको दर बढ्ने खतरा हुन्छ । प्रत्येक पालिकाका पशु शाखामार्फत नियुक्त भएका भ्याक्सिनेटरहरुले खोरमा पुगेर खोप लगाउने छन् ।”

बराहताल गाउँपालिका ८ सुर्खेत जयुपुरका बाख्रापालक कृषक जीतबहादुर शाहीले यो व्यवसायबाट सन्तुष्टि रहेको बताउनुभयो । आफूले एक सय ६३ बाख्रा पालेको बताउँदै उहाँले प्रति बाख्रा न्यूनतम रु.१६ हजारदेखि अधिकतम् अधिकतम् रु.४५ हजारसम्ममा बिक्री हुने गरेको जनाउनुभयो । कृषक शाहीले सिंचाई र घाँस उत्पादनमा सरकारले सहयोग गरे व्यवसाय अँझ फस्टाउने प्रतिक्रिया दिनुभयो ।

सोही वडाका देवीसरा मिजारले आफूसँग २४ बाख्रा भएको र वृद्धि हुने क्रम बढिरहेको जनाउनुभयो । उहाँले भन्नुभयो, “व्यवसाय ठिकै छ । यसमा हामी खुशी नै छौं तर रोग लागेर मर्ने अवस्था नआउने गरी सरकारले बेला बेलामा यस्तै खालका अभियान चलाईदिनु प¥यो । बराहताल कर्णालीकै सबैभन्दा बढी बाख्रापालन हुने ठाउँका रुपमा परिचित भएको पशुपंक्षी विकास निर्देशनालयका सुर्खेतका सूचना अधिकारी मोहन गिरीले जानकारी दिनुभयो ।

सुरुका दिनहरुमा जीवन निर्वाहका लागि एक÷दुई बाख्रा पालेका किसान अहिले प्रदेश सरकारले बाख्रा श्रोत केन्द्र स्थापना गरी एक किसान ५० बाख्रा रहेको अवस्था छ । अहिले बराहतालको ८ नम्बर वडामा मात्रै नौ हजार खसी बोका रहेको जनाइएको छ ।

 

प्रतिकृया दिनुहोस्