OnlinePana

आज : २०८१ बैशाख १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातापौष २१, २०८०सुर्खेत
१८६ पटक

२१ पुस २०८०, शनिबार

सुनचाँदी रत्न तथा आभूषण महासंघका केन्द्रीय अध्यक्ष सुरेशमान श्रेष्ठले मुलुक समृद्धि र दीगो आर्थिक विकासमा सुनचाँदी व्यवसायको महत्वपूर्ण योगदान रहेको बताउनुभएको छ ।

कर्णाली सुनचाँदी रत्न तथा आभूषण संघद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित तेस्रो साधारणसभा तथा दोस्रो प्रदेश महाधिवेशनको उद्घाटन गर्दै अध्यक्ष श्रेष्ठले यो व्यवसाय निकै संवेदनशील र चुनौतिपूर्ण रहेको बताउनुभयो । “सुनचाँदी रत्न तथा आभूषणको व्यापार गर्न सजिलो छैन,” उहाँले भन्नुभयो, “बहुमूल्य धातु बेच्ने व्यवसायीहरुलाई राज्यको सुरक्षा पनि छैन ।”

उहाँले सुन बैंक भन्दा बजारमा सस्तो भएको बताउँदै सुनचाँदी नियमावली निर्देशिका नबनेसम्म व्यवसायीहरुलाई व्यापार व्यवसाय गर्न गाह्रो हुने जिकिर गर्नुभयो । अध्यक्ष श्रेष्ठले भन्नुभयो, “सुन बोक्ने विदेशी छन् । नेपालीहरुमार्फत सुन आइराछ तर दुःख अरुले पाइरहेका छन् । सरकारले व्यवसायीहरु व्यवसाय सुरक्षित र सुनिश्चित हुने गरी अभिभावकत्व प्रदान गर्नुपर्दछ ।” उहाँले सुनचाँदी रत्न, आभूषण र हस्तकला संघ मर्ज हुन थालेको समेत जानकारी दिनुभयो ।

महासंघका महासचिव नीरबहादुर विश्वकर्माले मानिसको जन्मदेखि मृत्युसम्म आवश्यक हुुने बहुमूल्य वस्तु सदियौंदेखि व्यवसाय गरिँदै आएपनि नियम परिधिभित्र रहेर काम गर्ने वातावरण राज्यले निर्माण नगरेको गुनासो पोख्नुभयो । राज्यको उचित नियम नहुँदा व्यवसायीहरुले विभिन्न खालका समस्या भोग्दै आएको महासचिव विश्वकर्माको टिप्पणी थियो । महासंघका प्रदेश संयोजक मणिकिशोर पाण्डेले सुनमा एकरुपता ल्याउने नीति आवश्यक भएको जनाउँदै कर्णाली काईनाइट, क्वार्जजस्ता बहुमूल्य वस्तुको खानी भएको बताउनुभयो ।

उद्योग बाणिज्य संघ सुर्खेतका अध्यक्ष लक्ष्मण कँडेलले विशिष्ट प्रकृतिको व्यवसायका लागि राज्यले उपयुक्त नीति र विधि ल्याउनुपर्नेमा जोड दिनुभयो । सुनचाँदीको कच्चा पदार्थ आयात गर्न कर्णालीका व्यवसायीहरुका लागि असुविधा हुँदा व्यवसायीहरु विस्थापित हुँदै गएको भन्दै अध्यक्ष कँडेलले राज्यले उनीहरुको जीविकोपार्जनको सुनिश्चितता गर्नुपर्ने बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक लक्ष्मण शाहीले चोरीका सुन लिँदा व्यवसायीहरुले ध्यान पुर्याउन सुझाउनुभयो । कार्यक्रमका सहभागीहरुले नेपाल सरकारको मौद्रिक नीति उचित नहुँदा व्यवसाय धरासयी बन्दै गएको, उद्यमशीलतामा जाने वातावरण नभएको, व्यवसायहरुमा ठूलो विचलन आएको जस्ता समस्या राज्यले तत्काल समाधान गर्नुपर्ने सुझाएका थिए । उक्त कार्यक्रममा

सुनचाँदी रत्न तथा आभूषण संघका अध्यक्ष देवीकृष्ण पाण्डेयले पछिललो समयमा सुर्खेतमा सुन व्यवसायीहरु बढेर ९६ जना संघमा आवद्ध भएको बताउनुभयो । उहाँले संघको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै व्यवसायीहरुमा आएका समस्या समाधानतर्फ लाग्न केन्द्रीय नेतृत्वको विशेष पहल र ध्यान जानुपनेृमा जोड दिनुभएको थियो ।

प्रतिकृया दिनुहोस्