OnlinePana

आज : २०८१ जेठ ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही ,पौष १९, २०८०जुम्ला,
५३२ पटक

१६ पुस २०८० साेमबार

पारिलो घाममा ईटाहरु छरपष्ट  छन् । त्यसैबीचमा एक बालक फलामका सा-साना सामानहरु मिलाउँदै अनि बिगार्दै गरेकाे दृश्य देखिन्छ । बिगारे पनि फेरी बनाउने प्रक्रियालाई निरन्तरता दिइन्छ । बालककाे त्यस कार्यले सबैमा प्रश्न, जिज्ञास र चासाे जगाउछ । उहाँ हुनुहुन्छ, गुठिचौर गाउँपालिका निवासी १६ वर्षीय बालक छक्क अधिकारी ।

जुम्लाको सदरमुकाम चन्दननाथ नगरपालिका ५ कालेखाेलीस्थित एक कम्पनीमा अधिकारीले विभिन्न प्रकारका मेसिनरी सामग्रीहरु बनाउदै आउनुभएकाे छ । त्याे कम्पनीकाे नाम हाे, एम्स मल्टिम्यानुफ्याक्चरिङ प्रा.लि.जुम्ला । त्यही कम्पनीमा गरेकाे नवीन कामले अधिकारीलाई सीप,कला र बहुप्रतिभाका धनी हुनुहुन्छ  भन्ने कुरा उहाँकाे कामले देखाएकाे छ ।

रत्नचुडेश्वर माध्यामिक विद्यालयमा कक्षा १० मा अध्ययनरत उहाँलेअध्ययन सँगै विभिन्न प्रकारका मेसिनहरु बनाउने, गीत गाउने, पेन्टिङ गर्ने, चित्र बनाउने विषयमा अग्रणी भूमिका निर्वाह गर्दै आउनुभएकाे छ । उक्त माविका प्रधानाध्यापक कृष्णबहादुर रोकायाका अनुसार विद्यार्थी अधिकारीसँग बहुप्रतिभा छ । उहाँले अध्ययन मात्र हाेइन, विद्यालयमा बिग्रेको सिसि क्यामरा, प्रिन्टर, कम्प्युटर बनाउन पनि सघाउदै आएकाे प्रअ राेकायाले जानकारी दिनुभयो । अधिकारीअध्ययनसँगै सीपकलामा तीक्ष्ण दिमाग रहेका विद्यार्थी भएको उहाँले बताउनुभयो ।

पढाईसँगै सीप सिकाउने मातृ विद्यायलय एशिया 

प्राय: सबै कुरामा चासाे राख्ने प्रतिभाशाली छक्क अधिकारी कसरी सफल भईरहेका छन् भन्ने विषयमा थोरै पृष्ठभूमिमा जान्न जरुरी छ । वि.सं २०७२/०७३ सालमा छोरालाई कुन विद्यालयमा कसरी पढाउने भन्ने आमा बुबाको चिन्ता थियो । जुम्ला सदरमुकामदेखि २ घण्टा टाढा गुठिचौर गाउँपालिका ४  थामबाडाबाट अध्ययन गर्न आफु सदरमुकाम खलंगा झरेको अधिकारी बताउनुहुन्छ। सदरमुकाम झरेपछि चन्दननाथ नगरपालिकाको एशिया ईन्टरनेश्नल स्कुल बाेडिङ स्कुलमा ३ कक्षामा भर्ना भएको उहाँले बताउनुभयाे ।

छक्ककाे घरकाे आर्थिक अवस्था कमजाेर भएकाेले कसरी पढ्ने भन्ने चिन्ता थियाे यद्यपि एशिया स्कुलले आश्रयसहित खाना बस्न निशुल्क सहयोग गरेपछि उहाँलाई पढ्न सजिलो भयाे । बिस्तारै विद्यालयले अध्ययनसँगै सीप कलामा जोड दिएपछि आफ्नो जीवनमा निकै परिवर्तन भएको उहाँले जनाउनुभयाे । आफू त्याे अवस्थामा पुग्नुमा भने उक्त स्कुलका संस्थापक मनाेज बुढाथाेकी मगरकाे ठूलाे याेगदान रहेकाे उहाँले बताउनुभयाे । संस्थापक बुढाथाेकी मगरकै साथमा रहँदा प्राप्त गरेकाे नवीन ज्ञान सीप र सृजनाले केही गर्ने हुटहुटी जाग्याे । अनि एशिया स्कुलकाे मैदानमा बसेर ईन्टरलक ईटा बनाउने मेसिन आविश्कार गरेको उहाँकाे भनाई छ ।

अधिकारीले आवश्यकता अनुसारका काम व्यवहारमा प्रयाेग हुने मेसिन बनाउदै आएको बताउनुभयाे । उहाँअहिले पनि एशिया स्कुलको आवास गृहमा बसेर विद्यालय समयमा रत्नचुडेश्वर मा.वि.मा अध्ययन गर्दै आउनुभएकाे छ। एशिया स्कुलका संस्थापक मनोज बुढाथोकी मगरका अनुसार छक्क बहुप्रतिभाशाली  मुना हुन् । उहाँका अनुसार अधिकारी अध्ययन समयकाे अलावा बिहान बेलुकी सीप, कलामा बढी चासाे राखेर नयाँ कुराकाे सृजना गर्न चाहान्छन् ।

संस्थापक बुढाथाेकीले भन्नुभयाे, “छक्क शुरुमा विद्यालय आउदा गीत गाइरहँदा संगीतकाे अगाडि बढाउनुपर्छ लाग्थ्यो तर पछि उनकाे प्रतिभामा विविधता देखिन थाल्याे । अध्ययन तथा गायन नभएर इञ्जिनियङ् क्षेत्रमा पनि उनी चासाे राख्दै गए । त्यही क्रममा उनले लाखौको भुकम्प प्रतिरोधी स्लाईडिङ ईन्टरलक मेसिन बनाएका हुन् । त्यो मेसिनबाट अहिले जुम्लामै एम्स मल्टिम्यानुफ्याक्चरिङ कम्पनीमार्फत ईटा उत्पादन भई जुम्लामा भूकम्प प्रतिरोधी घरहरु निर्माण भईरहेका छन् ।”

छक्कले अहिले नै ट्रयाक्टर, मोटरसाईकलगायतका सवारी साधन पनि चलाउनुहुन्छ । संस्थापक बुढाथोकीका अनुसार छक्कको नवप्रवर्तनात्मक काम र सीपका कारण एशिया स्कुललाई अहिले बालबालिकाका लागि एउटा सीप सिक्ने उद्योगमार्फत अनुसन्धान केन्द्र बनाइएकाे छ। त्यहाँ पानी तान्ने, बिजुली उत्पादन गर्ने, फलाम काटनेलगायतका विभिन्न मेसिन बनाउने र बिग्रेका पनि बनाउने काम हुँदै आएकाे छ । छक्कको प्रतिभालाई संरक्षण गर्दै एशिया स्कुलले निशुल्क बसाई  र अध्ययनमा लगानी पनि गरिरहेको छ ।

छोरालाई एशिया स्कुलले सुरुदेखि नै अभिभावकत्व प्रदान गर्दै आएकाेले उक्त स्कूलप्रति आभारी भएकाे आमा स्यानु अधिकारीले बताउनुभयाे । छोराले गरिरहेको प्रगति हेर्दा खुशी लागेको बताउँदै उहाँले ३ कक्षादेखि अहिलेसम्म खान बस्नसहितअभिभावकको भूमिका एशिया स्कुलका मनोज बुढाथोकीले पुरा गर्नुभएकाे जनाउनुभयाे । अब पनि उसकाे उज्ज्वल भविश्य निर्माणमा सहयाेग पुर्याइदिन उहाँले विद्यालयलाई अनुराेध गर्नुभयाे ।

छक्कका अनुसार आफ्नाे सृजना, नवीन काम र भविश्य निर्माणकाे आधारभूमि एशिया इन्टरनेश्नल बाेर्डिङ् स्कुल  र गुरु उक्त विद्यालयका संस्थापक मनाेज बुढाथाेकी मगर हुन् । आगामी दिनमा समाज र देशका लागि आफूले सिकेकाे सीप र कला प्रयाेग गरेर अगाडि बढ्ने उद्देश्य रहेकाे उहाँले बताउनुभयाे ।

प्रतिकृया दिनुहोस्