OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताफागुन २०, २०७९सुर्खेत
२६३ पटक

२० फागुन २०७९, शनिबार

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले आगामी आव.२०८०÷०८१ को बजेट कर्णाली र सुदूरपश्चिम केन्द्रित आउने बताउनुभएको छ ।

नेपाली काँग्रेस सुर्खेत गुर्भाकोट नगरपालिकाद्वारा आज आयोजित प्रथम नगर सम्मेलनको उद्घाटन कार्यक्रममा बोल्दै उपसभापति खड्काले कम जनसंख्या भएपनि ठूलो भूगोल ओगटेको कर्णाली तथा सुदूरपश्चिम प्रदेश केन्द्रित बजेट आउने बताउनुभएको हो । यी दुवै प्रदेशका लागि न्यून बजेट विनियोजन हुने संघीय सरकारको यसअघिको परम्परालाई तोडिने उहाँको भनाई थियो ।

“वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालसहितका शीर्ष नेताहरु विसं.२०७९ मंसिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा कर्णालीका भएका चुनावी अभियानमा मैले नै बजेटमा कर्णालीलाई प्राथमिकतामा राख्न प्रस्ताव गरेको थिएँ,” उहाँले भन्नुभयो, “यसमा प्रधानमन्त्री प्रचण्डले समर्थन जनाउनु भएको थियो । अब त्यही मर्म अनुसार काम हुन्छ ।”

पूर्व गृहमन्त्रीसमेत रहनुभएका उपसभापति खड्काका अनुसार भेरी नदी किनारमा नयाँ शहर निर्माणको काम सुरु गरिएको छ । छिन्चुदेखि उत्तर जोड्ने सडक चार लेनको बनाउन ठेक्का आव्हान गरिएको छ । मदन भण्डारी राजमार्ग कालोपत्र, भेरीको टापु खटाङमा तीन मुखे झोलुङ्गे पुलको निर्माणका लागि माटो परीक्षणको काम भइरहेको छ ।

नयाँ सरकारको गठनका विषयमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन पछि मात्र छलफल हुने उहाँले बताउनुभयो । उपसभापति खड्काले भन्नुभयो, “राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सम्पन्नपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनुहुन्छ । त्यसपछि मात्र प्रधानमन्त्री दाहाल नेतृत्वमा कांग्रेस सरकारमा सहभागी हुन्छ ।

प्रतिकृया दिनुहोस्