OnlinePana

आज : २०८१ पौष २९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामाघ २१, २०७९सुर्खेत
७८५ पटक

२१ माघ २०७९, शनिबार

कर्णाली प्रदेशका भौतिक पूर्वाधार, उर्जा तथा जलस्रोतमन्त्री मंगलबहादुर शाहीले सडक गुरुयोजना बनाउन थालिएको बताउनुभएको छ ।

भौतिक पूर्वाधार मन्त्रालयद्वारा आज सुर्खेतमा आयोजित पत्रकारहरुसँगको परिचयात्मक कार्यक्रममा बोल्दै उहाँले पूर्वाधार निर्माणमा कुनै योजना नभएको बताउनुभयो । “बनेका योजना र बजेट प्रणाली पनि वैज्ञानिक छैनन्,” मन्त्री शाहीले भन्नुभयो, “जलस्रोतको प्रचुर संभावनालाई समृद्धिमा बदल्न हामी एउटा छुट्टै उर्जा कार्यालय पनि खोल्दैछौं ।”

कर्णाली सातै प्रदेशको तुलनामा समग्र सुचाङ्कमा पछि परेको भन्दै उहाँले समृद्धिको अभियानलाई अगाडि बढाउन वार्षिक १० हजार युवालाई रोजागारी दिने लक्ष्य राखेर कार्यदल गठन गरी अध्ययन सुरु गरिएको जनाउनुभयो । पछिल्लो समयमा कर्णालीमा बजेट कम खर्च हुनुमा प्राविधिक जनशक्ति अभाव, भौगोलिक विकटता र निर्वाचन मुख्य कारण रहेको उहाँको भनाई थियो ।

उहाँले भन्नुभयो, “हाम्रो मन्त्रालयमा ७२ कर्मचारीको दरबन्दी रिक्त छ । त्यसका ६० जना प्राविधिक रहेका छन् । कर्णालीमा अभाव भएको जनशक्ति व्यवस्थापन गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुरोध गरिएको छ ।” अब प्रदेश निजामती सेवा ऐन प्रदेश सरकारले छिट्टै बनाएर प्रदेश लोक सेवा आयोगबाट कर्मचारीको पदपूर्ति गर्ने योजना राखिएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार अहिले सबै मन्त्रीहरुको मन्त्रालयको अवस्था अध्ययन गरेर भएका अभाव र समस्यालाई सम्बोधन हुने गरी अगाडि बढ्ने योजनामा रहेका छन् । उक्त परिचयात्मक कार्यक्रममा सहभागी पत्रकारहरुले सरकारले बनाउने नीति तथा कार्यक्रम, बजेट र योजनाको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने र सूचनामैत्री सरकार बन्नुपर्ने सुझाव दिएका थिए ।

प्रतिकृया दिनुहोस्