OnlinePana

आज : २०८१ पौष २५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ २५, २०७९सुर्खेत
३३६ पटक

२५ असार २०७९, शनिबार

स्थानीय तह निर्वाचन, २०७९ मा भाग लिने सुर्खेत जिल्लाका २६ प्रतिशत उम्मेदवारले चुनावी खर्च बुझाएका छन् ।

गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको चुनावमा भाग लिएका यहाँका नौ स्थानीय तहका दुई हजार ८४ जना उम्मेदवारहरु मध्ये २६ प्रतिशतले मात्र चुनावी खर्च बुझाएका हुन् । दुई हजार ८४ मध्ये चुनावी खर्च बुझाउने ५५२ उम्मेदवार रहेको कर्णाली प्रदेश निर्वाचन कार्यालय सुर्खेतका सूचना अधिकारी निर्मला रेग्मीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “हामीले पटक पटक निर्वाचन खर्च बुझाउन उम्मेदवारहरुलाई ताकेता गरेका थियौं तरपनि निर्धारित मितिसम्म मात्र २६ प्रतिशत उम्मेदवारहरुले चुनावी खर्च बुझाएका छन् ।” स्थानीय तह निर्वाचन ऐन २०७३ र नियमावली २०७३ को ढाँचामा उम्मेदवारले चुनावको परिणाम घोषणा भएको मितिले ३० दिनभित्र आफ्नो चुनावी खर्च जिल्ला वा प्रदेश निर्वाचन कार्यालयमा बुझाउनुपर्ने कानुनी प्रावधान रहेको छ ।

सूचना अधिकारी रेग्मीका अनुसार सुर्खेतमा हालसम्म गाउँपालिकाहरुमा क्रमशः चौकुनेबाट २०, चिङ्गाडबाट ३३, सिम्ताबाट ३६, बराहतालबाट ९९ जना उम्मेदवारहरुले चुनाव खर्च बुझाएका छन् । त्यस्तै, नगरपालिकाहरुमा क्रमशः गुर्भाकोटबाट १२, भेरीगंगाबाट ५७, पञ्चपुरीबाट ६६, वीरेन्द्रनगरबाट ११२ र लेकबेसीबाट ११६ उम्मेदवारहरुले निर्वाचन खर्च प्रदेश निर्वाचन कार्यालयमा बुझाएका छन् ।

जिल्ला समन्वय समिति सुर्खेतको एकजना उम्मेदवारले चुनाव खर्च बुझाएको उहाँले बताउनुभयो । कर्णाली प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले चुनाव खर्च बुझाउने ५५२ र नबुझाउने एक हजार ५३२ उम्मेदवारहरुको विवरणसहित आयोगमा सिफारिस गरेर पठाइने बताउनुभएको छ ।

प्रतिकृया दिनुहोस्