OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ ७, २०७९सुर्खेत
७६६ पटक

७ असार २०७९, मंगलबार

कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा पहिलो पटक खुला ‘प्रथम राष्ट्रिय काँक्रेबिहार हाफ म्याराथन’ प्रतियोगितामा बाग्लुङका तीर्थकुमार पुन प्रथम हुनुभएको छ ।

आज बिहान सुर्खेत वीरेन्द्रचोकबाट शुरु भई मंगलगढी चोकहुँदै सुब्बाकुना, बुलबुले, चाइना पुल, बाङ्गेसिमल, खोर्केखोला हुँदै पुनः वीरेन्द्र चोकसम्मको २१ किलोमिटर १०० मिटर दुरी एक घण्टा नौ मिनेट १५ सेकेण्डमा पार गरेर पुन प्रथम आउनुभयो । त्यस्तै, एक घण्टा नौ मिनेट २४ सेकेण्डमा उक्त दूरी पार गरेर राजन रोकाय द्वितिय र एक घण्टा १० मिनेटमा ११ सेकेण्डमा सो दूरी पार गरी जुम्लाका चिने बुढा तृतीय हुनुभएको कर्णाली खेलकुद परिषद्का सदस्य सचिव विश्वामित्र सञ्ज्यालले जानकारी दिनुभयो ।

त्यस्तै, ट्याक खगेन्द्रबहादुर भाट चौथो, सुवास कार्की पाँचौ र श्रीकाश राई छैंटौं स्थान प्राप्त गर्नुभएको सदस्य सचिव सञ्ज्यालले बताउनुभयो । उहाँका अनुसार प्रतियोगिताका प्रथम पुनलाई रु.७१ हजार, द्वितिय रोकायलाई रु.४१ हजार, तृतीय बुढालाई रु.३१ हजार चौंथो भाटलाई रु.२० हजार, पाचौ कार्कींलाई रु.१५ हजार र छैठौं राईलाई रु.१० हजार नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको छ ।

त्यस्तै, पाँच किलोमिटर छात्रातर्फ प्रथम बिमला कार्की, द्वितिय निशा मल्ल र तृतीय लक्ष्मी शाही हुनुभयो । छात्रातर्फ प्रथम विकास विक, द्वितिय अजय विक र तृतीय प्रकाश बुढा हुनुभएको छ । उक्त प्रतियोगितामा प्रथम, द्वितिय र तृतीय स्थान हाँसिल गर्ने छात्रा छात्र प्रतियोगीहरुलाई क्रमश रु.१०, सात र पाँच हजार नगद पुरस्कार तथा प्रमाण पत्र प्रदान गरिएको थियो ।

प्रतियोगिताको उद्घाटन कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आज बिहान ६ः३० बजे गर्नुभयो । उक्त प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले खेल क्षेत्र दौडे जस्तै कर्णालीको हरेक क्षेत्र दौडनु पर्ने विचार व्यक्त गर्नुभयो ।

नेकपा एमाले कर्णाली प्रदेशसभा दलका नेता यामलाल कँडेलले यो खेल प्रतियोगिताले कर्णालीलाई विश्व जगतमा चिनाउन महत्वपूर्ण भूमिका खेल्ने टिप्पणी गर्नुभयो । कर्णाली प्रदेश खेलकुद विकास परिषद्का उपाध्यक्ष प्रमोद हमालले प्रतियोगिताको ऐतिहासिक कदमले कर्णालीको खेल पर्यटनको प्रवद्र्धनमा सहयोग पुग्ने जनाउनुभयो ।

सदस्य सचिव सञ्ज्यालले खेलजगत्मा गिनिज बुक अफ वल्र्ड रेकर्ड्स हरिबहादुर रोकाय, जुम्ला पातारासी गाउँपालिका सुनमाया बुढाजस्ता उच्च प्रतिभा भएका खेलाडी जन्माउने कर्णालीले अब पनि नेपाललाई विश्वमा चिनाउन ठूलो भूमिका खेल्ने बताउनुभयो ।

प्रतियोगिताबाट ऐतिहासिक महत्वको काँक्रेविहारको प्रचारप्रसार, कर्णालीमा खेल पर्यटनको प्रवर्दन हुने र लुकेर रहेको प्रतिभा प्रस्फुटन हुने अपेक्षा गरिएको छ । उक्त प्रतियोगिता सञ्चालनका लागि ५० जना निर्णायक रहेका थिए । प्रतियोगिता सञ्चालनका लागि प्रदेश खेलकुद विकास परिषद्ले रु.छ लाख उपलब्ध गराएको जनाइएको छ ।

 

‘अन्तर्राष्ट्रिय ओलम्पिक डे २०२२’ को अवसरमा कर्णाली प्रदेश खेलकुद विकास परिषद्को समन्वयमा मिड वेस्टर्न फिटनेस सेन्टरले आयोजना गरेको थियो । विभिन्न क्लब, नेपाल प्रहरी, नेपाली सेना, सशत्र प्रहरी बल, विभिन्न विद्यालयका छात्रछात्रा गरेर एक हजार २८० खेलाडीहरुले म्याराथनमा प्रतियोगितमा भाग लिएको संस्थाका प्रोप्राइटर संजीव हमालले जानकारी दिनुभयो ।

 

प्रतिकृया दिनुहोस्